बर्दिया ।
बर्दियामा ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत बासगढी नगरपालिका–५ मोतीपुर निवासी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैँसी र एक वटा पाडोलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा दुर्घटना भएको हो। सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएका पशुचौपायालाई भन्सारतर्फ लैजाँदै गर्दा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा सहायक हवल्दार कँडेल गम्भीर घाइते भएका थिए।
उपचारका लागि अस्पताल पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह र ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी निवासी निरञ्जन दर्जी पनि घाइते भएका छन्।
घाइते जवान शाहको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। चालक दर्जीको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ। घटनापछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। कर्तव्य पालनाका क्रममा भएको उक्त घटनाले सशस्त्र प्रहरी बल बर्दिया तथा स्थानीय समुदायमा शोकको वातावरण सिर्जना गरेको छ।











प्रतिक्रिया