काठमाडौं ।
कामकाजी तथा गृहिणी महिलाहरूलाई आधुनिक र स्वास्थ्यकर परिकार बनाउने सीप प्रदान गर्ने उद्देश्यले एक्सप्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज, कालिमाटीले तीनदिने निःशुल्क कुकिङ तालिम सञ्चालन गरेको छ। तालिममा सहभागी महिलाहरूलाई आइतबार आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको हो।



कार्यक्रममा काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सीपमूलक कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो। उहाँले खाना पकाउने सीप केवल घरायसी आवश्यकतासँग मात्र सीमित नभई स्वरोजगार र उद्यमशीलतासँग पनि जोडिएको विषय भएकाले यस्ता तालिमको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो।
वडाध्यक्ष श्रेष्ठले घरपरिवारको स्वास्थ्य राम्रो राख्न स्वच्छ, सन्तुलित र पोषणयुक्त खाना अत्यन्त आवश्यक हुने भन्दै तालिमले सहभागीहरूलाई हाइजिनिक तथा गुणस्तरीय खाना तयार गर्ने ज्ञान र सीप प्रदान गरेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउन वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कलेजका प्रबन्ध निर्देशक राजेन्द्र त्रिपाठीले तालिमको मुख्य उद्देश्य महिलाहरूको भान्सालाई थप व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउनु रहेको बताउनुभयो।


उहाँका अनुसार बदलिँदो समयसँगै खानपानको शैलीमा पनि परिवर्तन आइरहेको छ। त्यसैले परम्परागत नेपाली परिकारसँगै आधुनिक तथा अन्तर्राष्ट्रिय परिकार बनाउने ज्ञान महिलाहरूलाई दिन आवश्यक भएको उहाँको भनाइ थियो। “घरमा बनाइने खानाको गुणस्तरले परिवारको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ,” त्रिपाठीले भन्नुभयो, “यस्ता तालिमले महिलाहरूलाई नयाँ परिकार बनाउने सीप मात्र होइन, खाद्य सुरक्षाका आधारभूत मापदण्ड, सरसफाइ र पोषणसम्बन्धी ज्ञान पनि प्रदान गर्छ।” कार्यक्रममा लाम्पाटी टोल विकास समितिका अध्यक्ष भीमभक्त श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत महिलाहरूलाई निःशुल्क रूपमा सीपमूलक तालिम उपलब्ध गराउनु उदाहरणीय कार्य भएको बताउनुभयो।
उहाँले महिलाहरूलाई लक्षित यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने धारणा राख्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। तालिममा सहभागी महिलाहरूले तीन दिनसम्म विभिन्न नेपाली तथा आधुनिक परिकार बनाउने विधि, खाद्य सामग्रीको उचित प्रयोग, सरसफाइका मापदण्ड तथा व्यावसायिक ढंगले खाना तयार गर्ने आधारभूत सीपबारे प्रशिक्षण लिएका थिए। प्रशिक्षकहरूले व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई विभिन्न प्रकारका खाना तयार गर्न सिकाएका थिए। सहभागीहरूको तर्फबाट राधा श्रेष्ठले तालिम निकै उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिनुभयो।
उहाँले परम्परागत परिकारसँगै आधुनिक परिकार बनाउने नयाँ ज्ञान प्राप्त गर्न पाएको बताउँदै यसबाट आफू मात्र नभई अन्य सहभागी महिलाहरू पनि लाभान्वित भएको बताउनुभयो। “हामीले घरमा दैनिक बनाइने खानादेखि आधुनिक परिकारसम्म बनाउने नयाँ तरिका सिक्न पायौं। यसले आत्मविश्वास बढाएको छ,” उहाँले भन्नुभयो। कलेजले यस्ता सीपमूलक कार्यक्रममार्फत महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता प्रवर्द्धन तथा स्वस्थ खानपान संस्कृतिको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ। सहभागीहरूले पनि यस्ता तालिमले घरायसी जीवनसँगै साना व्यवसाय सञ्चालन गर्न समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया