परराष्ट्रमन्त्री शिशिर चीन जाँदै

दिल्ली–बेइजिङ दौडमा काठमाडौं कतै हराउँदै त छैन ?

188
Shares

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले आजबाट चीनको ४ दिने भ्रमण गर्दै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ भने चीनका अन्य उच्चस्तरीय नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास सहकार्य विस्तार गर्ने र साझा चासोका विषयमा छलफल हुनेछ । साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै चिनियाँ व्यवसायी समुदाय एवं लगानीकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ । नयाँ सरकारले विदेशी लगानी आकर्षित गर्ने प्राथमिकता सार्वजनिक गरिरहेका बेला यो कार्यक्रमलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ । लगानी सम्मेलनमा उहाँले चिनियाँ लगानीकर्ताहरूका सामु नेपालमा लगानीका सम्भावनाहरूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने नै यो भ्रमणको मुख्य चासोको विषय हो ।

यसअघि भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तामा ऊर्जा, सम्पर्क सञ्जाल, व्यापार, लगानी र सहकार्यका विषयमा छलफल गर्दै ‘विगतका बोझबाट मुक्त भएर नयाँ अध्याय सुरु गर्न चाहेको’ सन्देश दिनुभएको थियो ।

सतहमा हेर्दा यो सामान्य कूटनीतिक गतिविधि हो । तर, यसले एउटा गम्भीर प्रश्न पनि उठाएको छ । त्यो हो, नेपाल अहिले दिल्ली र बेइजिङबीच सन्तुलन खोजिरहेको छ कि आफ्नो विकासको बाटो ?

नेपालमा सरकार फेरिएको छ । राजनीतिक नेतृत्व फेरिएको छ । तर, देशका मूल समस्या फेरिएका छैनन् । युवाको विदेशिने क्रम रोकिएको छैन । निजी क्षेत्र अझै उत्साहित छैन । उद्योग विस्तार हुन सकेको छैन । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर ४ दशमलव ६ प्रतिशतबाट झरेर २ दशमलव ३ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । एसियाली विकास बैंकले पनि २ दशमलव ७ प्रतिशतमात्र वृद्धि हुने प्रक्षेपण गरेको छ ।

अर्काेतर्फ, अर्थतन्त्रको मेरुदण्ड उत्पादन र निर्यात होइन, रेमिट्यान्स बनेको छ । यस्तो अवस्थामा भारत र चीनसँगको सम्बन्ध केवल कूटनीतिक विषयमात्र रहँदैन । त्यो प्रत्यक्ष रूपमा आर्थिक विषय बन्छ ।
दिल्ली नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । हाम्रो पारवहन, ऊर्जा बजार र दैनिक आर्थिक जीवन भारतसँग गाँसिएको छ भने अर्काेतर्फ चीन पूर्वाधार, लगानी र वैकल्पिक पहुँचको सम्भावनाका रूपमा उभिएको छ ।

त्यसैले आजको प्रश्न ‘भारत कि चीन’ कुन रोज्ने भन्दा पनि नेपालले भारत र चीनलाई कसरी हेर्छ ? भन्ने नै हो ।
यदि, काठमाडौंले दिल्लीलाई केवल राजनीतिक सम्बन्ध र बेइजिङलाई केवल रणनीतिक सन्तुलनका रूपमा मात्र हेरिरह्यो भने फेरि पनि पुरानै चक्र दोहोरिनेछ । भ्रमण हुनेछन्, संयुक्त वक्तव्य आउनेछन्, हात मिलाएको तस्वीर सार्वजनिक हुनेछन्, तर आम नागरिकको जीवनमा खासै परिवर्तन देखिने छैन ।

वास्तवमा अहिले नेपालको सबैभन्दा ठूलो कूटनीतिक चुनौती भनेको सम्बन्ध सन्तुलन होइन, प्राथमिकता सन्तुलन हो । हामी धेरै समयदेखि छिमेकीबीचको दूरी नापिरहेका छौं । तर, आफ्नै विकासको दूरी कति बाँकी छ भन्ने बहस कम भइरहेको छ । आज पनि हाम्रो सार्वजनिक बहस दिल्ली र बेइजिङ वरिपरि घुमिरहेको छ । विकास, लगानी, उत्पादन र रोजगारीको बहस त्यसैको छायामा परेको छ ।

भारत र चीन दुवैले नेपाललाई आफ्नो रणनीतिक वृत्तभित्र राखेर हेर्नु स्वाभाविक हो । तर, नेपालले आफूलाई कसरी हेर्छ ? त्यसमा हामी स्पष्ट हुनुपर्छ । परराष्ट्रमन्त्री शिशिरको दिल्ली र बेइजिङ भ्रमणलाई पनि यही सन्दर्भमा हेरिनुपर्छ । मन्त्रीहरू दिल्ली र बेइजिङ दौडिरहँदा काठमाडौं अगाडि बढिरहेको छ कि छैन ? यो दौडधुपमा काठमाडौं कतै हराउँदै त छैन ? ध्यान दिनुपर्र्ने विषय यही नै हो ।

परराष्ट्रमन्त्री शिशिरको दिल्ली र चीन भ्रमणको सफलताको मानक
– यो भ्रमणपछि नयाँ लगानी आउँछ ?
– उद्योग स्थापना हुन्छन् ?
– रोजगारी सिर्जना हुन्छ ?
– नेपालले ऊर्जा, पर्यटन र पूर्वाधार क्षेत्रमा ठोस लाभ हासिल गर्छ ?
-व्यापार घाटा कम गर्ने नयाँ आधार तयार हुन्छ ?