डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन


काठमाडौं ।

हाडजोर्नी तथा ट्रमा उपचारमा संलग्न चिकित्सकहरूको साझा संस्था ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको घोषणा गरिएको हो। सोसाइटीको संरक्षकमा प्राडा. रमेशप्रसाद सिंह रहेका छन्।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के. दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता, महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा तथा सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन्। समितिका सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल रहेका छन्। यसैगरी, साइन्टिफिक कमिटीको अध्यक्षमा डा. रोहित श्रेष्ठ चयन भएका छन्।

समितिका सदस्यहरूमा डा. भाष्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौला रहेका छन्। प्रदेशगत प्रतिनिधिका रूपमा कोशी प्रदेशबाट डा. रुपेशजंग बेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभूषण यादव, बागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजनकुमार रोकाया तथा सुदूरपश्चिम प्रदेशबाट डा. मन्दीप पाठक चयन भएका छन्।

नवनियुक्त अध्यक्ष डा. लामिछानेले हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले ट्रमा सोसाइटी अफ नेपाल स्थापना गरिएको बताए। उनका अनुसार नवगठित समितिमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा कार्यरत सक्रिय हाडजोर्नी चिकित्सकहरूको सहभागिता रहेको छ।

उनले सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण ट्रमा (गम्भीर चोट) का समस्या बढ्दै गएको उल्लेख गर्दै सोसाइटीले हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरूबीच अनुभव, ज्ञान र नवीनतम प्रविधिको आदानप्रदानलाई तीव्रता दिने बताए। सोसाइटीको मुख्य उद्देश्य गुणस्तरीय उपचार सेवा, जनचेतना अभिवृद्धि, अनुसन्धान तथा तालिम, क्षमता विकास र नीतिगत सहकार्य रहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ट्रमा तथा अर्थोपेडिक उपचारलाई प्रभावकारी बनाउने, सडक सुरक्षा तथा प्राथमिक उपचारबारे जनचेतना फैलाउने, नयाँ अनुसन्धानलाई प्रोत्साहन गर्ने र युवा चिकित्सकहरूलाई विशेष तालिम प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ। त्यसैगरी, नेपालमै ट्रमा सर्जरीको गुणस्तर अभिवृद्धि गर्दै अनुसन्धानलाई प्रवर्द्धन गर्ने, दुर्गम क्षेत्रसम्म विशेषज्ञ सेवा विस्तार गर्ने तथा नीति निर्माता र सरोकारवाला निकायसँग सहकार्य गर्ने योजना पनि सोसाइटीले अघि सारेको छ।

अध्यक्ष डा. लामिछानेका अनुसार सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गर्ने, नयाँ सर्जनहरूका लागि फेलोसिप कार्यक्रम सञ्चालन गर्ने, उत्कृष्ट सर्जनलाई सम्मान गर्ने तथा निःशुल्क स्वास्थ्य शिविरलगायत विभिन्न ज्ञानवर्द्धक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।