कविरस शर्मा
फुटबल केवल ९० मिनेटको खेल मात्र होइन, यो मैदानभित्र देखिने पात्रहरूको खेल कौशल र भावनाको उत्सव पनि हो । कतिपय अवस्थामा खेलको नतिजाभन्दा पनि खेलाडीको व्यक्तिगत प्रदर्शन, व्यवहार र मैदानभित्रको शैलीले आम फुटबल समर्थकलाई बढी मन्त्रमुग्ध पार्छ । विश्व खेलकुदकै महाकुम्भ फिफा विश्वकपको २३औं संस्करण उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानाडामा भव्य रूपमा सुरु भइसकेको छ । आगामी छ हप्तासम्म संसारभरका करोडौं प्रशंसकको आँखा मैदानमा अडिनेछन् । यसैबीच, उपाधि कसले जित्ला भन्ने कौतुहलतासँगै फुटबल वृत्तमा एउटै प्रश्नले निकै चर्चा पाएको छ । त्यो हो यसपटकको ‘गोल्डेन बुट’, अर्थात सर्वाधिक गोलकर्ताको पुरस्कार कसको पोल्टामा जाला भन्ने कौतुहलता । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको पूर्वसन्ध्यामा १० यस्ता खेलाडीको सूची सार्वजनिक गरेको छ, जसलाई यसपटकको गोल्डेन बुटको मुख्य दावेदार मानिएको छ । मैदानमा उत्कृष्ट खेल कौशल पस्कन तयार १० ‘गोल मसिन’ हरूको फेहरिस्त यहाँ प्रस्तुत गरिएको छ :
किलियन एमबाप्पे (फ्रान्स) : गति र शक्तिशाली प्रहारका पर्याय
सन् २०१८ मा मात्र १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकपको ट्रफी दिलाएका किलियन एमबाप्पे अहिले विश्व फुटबलकै सबैभन्दा खतरनाक फरवार्ड हुन् । फ्रान्सका लागि ९८ खेलमा ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका एमबाप्पेले मात्र २७ वर्षको उमेरमा आफूलाई देशकै ऐतिहासिक उच्च गोलकर्ताको रूपमा स्थापित गरिसकेका छन् । कतार विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका एमबाप्पे यसपटक पनि मुख्य दाबेदार हुन् । रियल मड्रिड र पीएसजी दुवै क्लबबाट प्रतिखेल १ गोलको औसत राख्न सफल उनी अविश्वसनीय गति र ‘क्लिनिकल फिनिसिङ’ का लागि चिनिन्छन् । यसपटक समूह ‘आई’ मा सेनेगल, इराक र नर्वेसँग भिड्दा एमबाप्पेले रायन चेर्की, औसमान डेम्बेले र माइकल ओलिसेजस्ता खेलाडीबाट उत्कृष्ट ’एसिस्ट’ पाउने हुँदा उनको गोलसंख्या झनै बढ्ने अनुमान गरिएको छ ।
ह्यारी केन (इङ्ल्यान्ड) : कीर्तिमान दोहोर्याउने दाउमा
इङ्ल्यान्डका कप्तान ह्यारी केन विश्व फुटबलका सबैभन्दा भरपर्दा ‘परम्परागत नम्बर ९’ स्ट्राइकर हुन् । देशका लागि ११३ खेलमा ७९ गोल गरिसकेका केनले विश्वकपमा मात्रै ८ गोल गरेका छन् । सन् २०१८ को विश्वकपमा गोल्डेन बुट जितेका केनसँग यसपटक इतिहासमै दुई पटक यो पुरस्कार जित्ने पहिलो खेलाडी बन्ने सुनौलो अवसर छ । सन् २०२३ मा जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएयता उनले बुन्डेसलिगामा गोलको वर्षा नै गरिरहेका छन् । इङ्ल्यान्डका लागि लगातार ५ वर्षदेखि प्रतिखेल १ गोलको औसत कायम राखेका ३२ वर्षे केनलाई यसपटक ज्युड बेलिङ्घम, इबेरेची इजे र बुकायो साकाजस्ता विङ्गरहरूको बलियो साथ रहनेछ, जसले उनलाई पुनः उच्च गोलकर्ताको ताज पहिर्याउन सक्छ ।
मिकेल ओयार्जाबाल (स्पेन) : चोटपछिको सानदार पुनरागमन
रियल सोसिडाडका कप्तान मिकेल ओयार्जाबाल स्पेनिस टोलीका वर्तमान समयका सबैभन्दा प्रभावशाली स्ट्राइकर हुन् । घुँडाको गम्भीर चोटका कारण सन् २०२२ को कतार विश्वकप गुमाएका २९ वर्षे ओयार्जाबाल यसपटक स्पेनका लागि मुख्य हतियार बन्ने मुडमा छन् । स्पेनका लागि पछिल्ला १३ अवे (अन्तर्राष्ट्रिय) खेलमा १३ नै गोल गरेका उनको तथ्यांकले विपक्षी डिफेन्डरहरूलाई डराउन पर्याप्त छ । पेड्री, लामिन यमाल र निको विलियम्सजस्ता युवा तथा सिर्जनशील मिडफिल्डरहरूको साथ पाएका ओयार्जाबालले समूह ‘एच’ मा केप भेर्डे, साउदी अरेबिया र उरुग्वेविरुद्ध सुरुआती चरणमै गोलको वर्षा गर्न सक्ने अनुमान गरिएको छ ।
इर्लिङ हालान्ड (नर्वे) : विपक्षी डिफेन्स भत्काउने ‘भाइकिङ’
आधुनिक फुटबलमा म्यानचेस्टर सिटीका गोल मसिन इर्लिङ हालान्डको नाम नै उनको क्षमताको पहिचान हो । नर्वेका लागि मात्र ५० खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका हालान्डले गत अक्टोबरमा ५३ वर्ष पुरानो कीर्तिमान तोड्दै इतिहासमै सबैभन्दा कम खेलमा ५० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने कीर्तिमान बनाएका थिए । पेनाल्टी बक्सभित्र उनको भौतिक उपस्थिति, गति र अचूक प्रहार रोक्न संसारका कुनै पनि डिफेन्डरलाई धौ–धौ पर्छ । यद्यपि नर्वे समूह ‘आई’ मा फ्रान्स, सेनेगल र इराकसँग परेकाले टोलीको यात्रा लामो नहुन सक्ने खतरा छ । तर, हालान्ड जस्ता खेलाडीलाई गोल गर्नबाट रोक्न कुनै पनि रक्षापंक्तिलाई सजिलो हुने छैन । उनलाई मैदानमा मार्टिन ओडेगार्ड र ओस्कार बबको उत्कृष्ट पासको साथ मिल्नेछ ।
लियोनेल मेसी (अर्जेन्टिना) : यादगार अन्तिम विश्वकप बनाउने धुनमा
विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसी यसपटक पनि विश्वकपको मुख्य आकर्षण हुन् । अर्जेन्टिनाका लागि १९८ खेलमा ११६ गोल गरिसकेका मेसी यही विश्वकपका दौरान ३९ वर्षमा प्रवेश गर्दैछन् । तर, उमेर उनको खेलको स्तरमा कतै पनि बाधक बनेको देखिँदैन । अर्जेन्टिनाका लागि पछिल्ला ३७ खेलमा ३५ गोल गरेका मेसी हाल अमेरिकी क्लब इन्टर मायमीमा पनि सानदार फर्ममा छन् । विश्वकपको इतिहासमा एकै संस्करणमा ६ भन्दा बढी गोल गरेर पनि गोल्डेन बुट जित्न नसकेका थोरै खेलाडीमध्ये मेसी एक हुन् । समूह ‘जे’ मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग खेल्दै साविक विजेता अर्जेन्टिनाका यी कप्तान आफ्नो खेल जीवनमा बाँकी रहेको यही एउटा व्यक्तिगत प्रतिष्ठित ट्रफी पनि जित्न चाहन्छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : ४० को उमेरमा पनि तन्नेरी जोश
विश्व फुटबल इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता (२२६ खेलमा १४३ गोल) क्रिस्टियानो रोनाल्डो ४० वर्षको उमेरमा पुगेर पनि फुटबल मैदानका कुनै तन्नेरी भन्दा कम छैनन । साउदी प्रो लिगको क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले पोर्चुगलका लागि पछिल्ला ३० खेलमा २५ गोल गर्दै उमेर केवल एउटा संख्या मात्र हो भन्ने प्रमाणित गरिदिएका छन् । यसपटक प्रशिक्षक रोबर्टो मार्टिनेजको रणनीतिमा रोनाल्डोले पर्याप्त ‘प्लेइङ टाइम’ पाइरहेका छन् । ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, राफेल लियो र पेड्रो नेटोजस्ता विश्वस्तरीय मिडफिल्डरहरूले भरिएको पोर्चुगल टोलीको फाइदा उठाउँदै समूह ‘के’ का प्रतिद्धन्द्धी कंगो, उज्वेकिस्तान र कोलम्बियाविरुद्ध रोनाल्डोले आफ्नो गोल संख्यालाई अझै नयाँ उचाइमा पुर्याउने निश्चित छ ।
लामिने यमाल (स्पेन) : इतिहास रच्न तयार ‘वन्डरकिड’
मात्र १९ वर्षको उमेरमा विश्वकपमा डेब्यु गर्न लागेका स्पेनका युवा सनसनी लामिने यमाल यसपटकको प्रतियोगिताका सबैभन्दा प्रतिक्षित युवा खेलाडी हुन् । स्पेनका लागि २५ खेलमा ५ गोल गरिसकेका यमालले बार्सिलोनाका लागि गत सिजन १८ गोल गरेका थिए । सामान्यतया गोल असिस्ट गर्न माहिर मानिने यमालको ‘लङ रेन्ज’ प्रहार र ड्रिब्लिङ क्षमता निकै घातक छ । यदि यसपटक उनले सर्वाधिक गोल गर्न सके भने उनी विश्वकप इतिहासकै सबैभन्दा कान्छो गोल्डेन बुट विजेता बन्नेछन् र सन् २०१४ मा २३ वर्षको उमेरमा यो कीर्तिमान बनाएका कोलम्बियाका हामेस रोड्रिगेजको कीर्तिमान तोडिनेछ ।
औसमान डेम्बेले (फ्रान्स) : तीब्र गतिका गोलका भोका विंगर
तथ्यांकका आधारमा हेर्दा ५९ खेलमा मात्र ७ अन्तर्राष्ट्रिय गोल गरेका फ्रान्सका विंगर औसमान डेम्बेले यो सूचीमा पर्नु कतिपयलाई आश्चर्य लाग्न सक्छ । तर, फुटबलमा विगतभन्दा वर्तमानको फर्म सर्वोपरी हुन्छ । डेम्बेलेले पछिल्ला दुई सिजनमा पीएसजीका लागि ५५ गोल गर्दै आफूलाई तीव्र गतिको विङ्गरबाट एक खतरनाक गोलकर्तामा रूपान्तरण गरिसकेका छन् । फ्रान्सेली टोलीको आक्रमणको केन्द्रमा किलियन एमबाप्पे रहने हुँदा विपक्षी डिफेन्सको सम्पूर्ण ध्यान एमबाप्पेमा केन्द्रित हुनेछ । यसको फाइदा उठाउँदै ‘वाइड पोजिसन’ बाट भित्र छिरेर डेम्बेलेले यसपटक गोलको वर्षा गर्न सक्ने फिफाको अनुमान छ ।
भिनिसियस जुनियर (ब्राजिल) : ‘साम्बा’ फुटबलको नयाँ नायक
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलका आक्रामक फरवार्ड भिनिसियस जुनियर हाल विश्व फुटबलकै सबैभन्दा लयमा रहेका खेलाडी हुन् । रियल मड्रिडका लागि पछिल्ला पाँच सिजन लगातार २० भन्दा बढी गोल गरेका २५ वर्षे भिनिसियसले ब्राजिलका लागि भने ४९ खेलमा ९ गोल मात्र गरेका छन् । तर, यसपटक ब्राजिल तुलनात्मक रूपमा सहज मानिएको समूह ‘सी’ (मोरोक्को, हाइटी र स्कटल्यान्ड) मा रहेकाले भिनिसियसले सुरुआती चरणमै आफ्नो गोल संख्या बढाउने ठूलो अवसर पाउनेछन् । उनको तीव्र गति र ‘वान–भर्सेस–वान’ ड्रिब्लिङ कला यसपटक गोल्डेन बुटको बलियो दाबेदार बन्ने आधार हो ।
राफिन्हा (ब्राजिल) : अचूक प्रहार र पेनाल्टी विशेषज्ञ
बार्सिलोनाका आक्रामक मिडफिल्डर तथा फरवार्ड राफिन्हाको उपस्थिति विपक्षी टिमका लागि सधैं टाउको दुखाइ बन्ने गर्छ । ब्राजिलका लागि ३८ खेलमा ११ गोल गरेका राफिन्हाले विश्वकपमा भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् । तर, बार्सिलोनाका लागि सन् २०२४/२५ को सिजन सुरु भएयता ९० खेलमा ५५ गोल गरिसकेका उनको हालको फर्म लोभलाग्दो छ । ब्राजिलले खेलका दौरान पाउने पेनाल्टी, कर्नर र फ्री–किकहरू प्रहार गर्ने मुख्य जिम्मेवारी राफिन्हाकै काँधमा हुने भएकाले समूह ’सी’ का कमजोर टोलीहरूविरुद्ध उनले धेरै गोल निकाल्दै गोल्डेन बुटको दौडमा सबैलाई अचम्ममा पार्न सक्ने सम्भावना बलियो छ ।
हालसम्म फिफा विश्वकपका उच्च गोलकर्ताहरु :
१९३०– ग्विलेर्मो स्टाबिल, अर्जेन्टिना (८ गोल)
१९३४– ओल्डरिच नेजेडी, चेकोस्लोभाकिया (५ गोल)
१९३८– लियोनिडास, ब्राजिल (७ गोल)
१९५०– एडेमिर डी मेनेजेस, ब्राजिल (९ गोल)
१९५४– सान्डर कोस्किस, हंगेरी (११ गोल)
१९५८– जस्ट फोन्टेन, फ्रान्स (१३ गोल)
१९६२– अल्बर्ट (हंगेरी), गारिन्चा (ब्राजिल), इभानोभ (रुस), जार्कोभिच (युगोस्लाभिया), सान्चेज (चिली) र भाभा (ब्राजिल)– सबैको ४ गोल
१९६६– इयुसेबियो, पोर्चुगल (९)
१९७०– गर्ड मुलर, पश्चिम जर्मनी (१०)
१९७४– गर्जगोर्ज लाटो, पोल्यान्ड (७ गोल)
१९७८– मारियो केम्पेस, अर्जेन्टिना (६ गोल)
१९८२– पाउलो रोसी, इटाली (६ गोल)
१९८६– ग्यारी लिनेकर, इङ्ल्यान्ड (६ गोल)
१९९०– साल्भाडोर सिलाची, इटाली (६ गोल)
१९९४– ओलेग सालेन्को (रुस) र ह्रिस्टो स्टोइच्कोभ (रुस) दुवैको ६ गोल
१९९८– डाभोर सुकर, क्रोएसिया (६ गोल)
२००२– रोनाल्डो नजारियो, ब्राजिल (८ गोल)
२००६– मिरोस्लाभ क्लोज, जर्मनी (५ गोल)
२०१०– मुलर (जर्मनी), स्नाइडर (नेदरल्यान्ड्स), डेभिड भिया (स्पेन) सबैको ५ गोल
२०१४– हामेस रोड्रिग्वेज, कोलम्बिया (६ गोल)
२०१८– ह्यारी केन, इङ्ल्यान्ड (६ गोल)
२०२२– किलियन एमबाप्पे, फ्रान्स (८ गोल)











प्रतिक्रिया