मेक्सिकोका सान्टियागो जिमेनेजमाथि सबैको नजर


विश्वकप २०२६ को सह–आयोजक मेक्सिकोका युवा स्ट्राइकर सान्टियागो जिमेनेज यसपटक मैदानमा हेर्नलायक सबैभन्दा रोमाञ्चक र प्रभावशाली खेलाडीका रूपमा प्रस्तुत हुँदैछन् । एसी मिलानबाट व्यावसायिक फुटबल खेल्ने जिमेनेज पेनाल्टी बक्स भित्र अत्यन्तै आक्रामक, तीव्र गतिको मुभमेन्ट र उत्कृष्ट प्राविधिक कौशलका लागि चिनिन्छन् ।

आगामी खेलमा दक्षिण अफ्रिकाको रक्षापंक्तिलाई ध्वस्त पार्न मेक्सिकोका लागि उनी नै मुख्य हतियार बन्ने निश्चित छ । घरेलु मैदान र दर्शकको साथ पाउँदा उनको प्रदर्शन अझै घातक हुन सक्छ । मेक्सिकोको अग्रपंक्तिमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले सुरुवाती भूमिका निभाउने अपेक्षा गरिए पनि बेन्चबाट मैदान प्रवेश गर्ने सान्टियागो जिमेनेजको प्रहार विपक्षीका लागि कडा चुनौती बन्नेछ ।

उनले मैदान छिर्नासाथ खेलको समीकरण बदल्न सक्ने क्षमता राख्दछन् । जिमेनेजका अलावा मेक्सिकन टोलीको मिडफिल्डलाई बलियो बनाउन सह–कप्तान एड्सन अल्भारेजले मुख्य भूमिका खेल्नेछन् भने १७ वर्षीय युवा प्रतिभा गिल्बर्टो मोराको जादुमय खेल पनि यसपटक विशेष आकर्षणको केन्द्र बन्ने देखिन्छ । घरेलु टोलीलाई नकआउट चरणको यात्रा तय गराउन जिमेनेजको फिनिसिङ र टोलीको यो सन्तुलन निकै महत्वपूर्ण सावित हुनेछ ।