इरान–अमेरिका द्वन्द्व थप चर्कियो अमेरिकी सैन्य अड्डामाथि इरानी हमला, ट्रम्पको थप आक्रमणको चेतावनी


तेहरानरवाशिङ्टन ।

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव थप गहिरिँदै गएको छ। इरानको सेनाले अमेरिकी आक्रमणको जवाफस्वरूप क्षेत्रस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको दाबी गरेको छ। इरानी पक्षका अनुसार अमेरिकी सैन्य उपस्थितिविरुद्ध गरिएको कारबाहीअन्तर्गत विभिन्न स्थानमा मिसाइल तथा ड्रोन आक्रमण गरिएको हो।

त्यसपछि व्यचमबल मा रहेका अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान र आश्रय लिन चेतावनी दिइएको छ। यस्तैकुवेतको सेनाले आफ्नो आकाशमा प्रवेश गरेका केही क्षेप्यास्त्रहरू अवरोध गरेको जनाएको छ भने बहराईनमा साइरन बजाएर उच्च सतर्कता अपनाइएको छ। यसैबीच अमेरिकी सेनाले इरानभित्र दोस्रो रात पनि सैन्य कारबाही जारी राखेको जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार निगरानी प्रणाली, सञ्चार संरचना तथा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको हो।

आक्रमणपछि इरानका विभिन्न क्षेत्रमा, विशेषगरी विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने स्टेट अफ हर्मुज आसपासका क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सहमति वा सम्झौता नभए थप सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

उनले आवश्यक परे इरानका महत्वपूर्ण पूर्वाधार तथा रणनीतिक संरचनामाथि पुनः निशाना साध्न सकिने संकेत गरेका छन्। दुवै देशबीच प्रत्यक्ष सैन्य टकराव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। क्षेत्रीय युद्धको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरिरहेको छ।