आजबाट फिफा विश्वकप २०२६ सुरु

पहिलोपटक ४८ राष्ट्रको प्रतिनिधित्व हुने

1.41k
Shares

काठमाडौं ।

विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ ।

विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक मेक्सिकोका लागि यो अनुभव परिपक्वताको परीक्षा हुनेछ भने पहिलोपटक विश्वकप आयोजनाको अवसर पाएको क्यानडाका लागि यो एउटा सुनौलो इतिहासको सुरुवात हुनेछ ।

खेलप्रेमीहरूको ढुकढुकी बढाउने गरी यसपटक तीनवटै आयोजक राष्ट्रहरूले अलग–अलग र अद्वितीय उद्घाटन समारोहहरूको घोषणा गरेर विश्वलाई नै चकित पारिदिएका छन् । यो महाकुम्भको पहिलो ऐतिहासिक ढोका मेक्सिको सिटीको प्रख्यात एस्टाडियो अज्टेका स्टेडियमबाट खुल्नेछ ।

जहाँ नेपाली समयअनुसार बिहीबार राति ११ः४५ बजेबाट मेक्सिकन संस्कृति, आधुनिक प्रविधि र संगीतको जादुमयी फ्युजन सुरु हुनेछ । यो उत्सव कतिसम्म विशेष छ भने मेक्सिकोमा आजका दिन स्कुलहरू पूर्ण रूपमा बन्द रहनेछन् । यो सांगीतिक महासंग्राम सकिएलगत्तै नेपाली समयअनुसार बिहीबारकै मध्यराति १२ बजेर ४५ मिनेटमा मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकप २०२६ को पहिलो उद्घाटन खेलको घमासान सुरु हुनेछ ।

उत्सवको यो राप र ताप मेक्सिकोमा मात्र प्रवाह हुने छैन, शुक्रवार राति क्यानडाको टोरोन्टोस्थित बीएओ फिल्डमा दोस्रो उद्घाटन समारोहमा पनि जारी रहनेछ । क्यानेडेली भुइँमा पहिलोपटक खुट्टा टेक्न लागेको यो विश्वकपलाई स्वागत गर्न माइकल बुब्ले, बलिउड सनसनी नोरा फतेही र बंगलादेशी–अमेरिकी डीजे सञ्जयलगायतका कलाकारहरूले स्टेज तताउनेछन् ।

त्यसलगत्तै नेपाली समयअनुसार शुक्रवार राति १२ बजेर ४५ मिनेटमा आयोजक क्यानाडाले बोस्निया हर्जगोबिनासँग ऐतिहासिक भिडन्त गर्दै आफ्नो पहिलो विश्वकप खेलको सुरुवात गर्नेछ ।

त्यसै गरी, तेस्रो सह–आयोजक राष्ट्र अमेरिकाले लस एन्जेलसको अत्याधुनिक सोफी स्टेडियममा पप स्टार केटी पेरी, ¥यापर फ्युचर, ब्ल्याकपिंककी चर्चित सदस्य लिसा र नाइजेरियाली स्टार रेमाको विशाल प्रस्तुतिसहित तेस्रो उत्सव मनाउनेछ ।

अमेरिकाको मैदानमा नेपाली समयअनुसार जेठ ३० गते बिहान ६ बजेर ४५ मिनेटमा आयोजक अमेरिका र पाराग्वेबीचको खेलसँगै यो खेलकुदको महामेलाले नयाँ गति लिनेछ । जसले खेल इतिहासमा कहिल्यै नमेटिने एउटा सुनौलो कीर्तिमान खडा गर्नेछ ।