गर्मी बढेसँगै शरीरलाई चिसो, ताजा र ऊर्जावान् राख्ने पेय पदार्थको माग पनि बढ्ने गर्छ। धेरै मानिसहरू गर्मीमा शितलता पाउनका लागि बोतलमा प्याक गरिएको विभिन्न रंङीन पेय पदार्थ प्रयोग गर्छ्न जुन स्वास्थका लागि हानिकारक छ। गर्मीमा त्यस्ता पेयको विकल्पका रूपमा घरमै स्वस्थकर मकटेल बनाएर पिउन सकिन्छ।
मकटेल भनेको मदिरा बिना तयार गरिने स्वादिष्ट र रंगीन पेय हो। फलफूल, जुस, सोडा, पुदिना तथा विभिन्न सिरप प्रयोग गरेर बनाइने यी पेय स्वास्थ्यका लागि तुलनात्मक रूपमा राम्रो मानिन्छन्।
मकटेल केवल स्वादका कारण मात्र लोकप्रिय छैनन्, यसको आकर्षक रङ, सुगन्ध र प्रस्तुतिले पनि मानिसहरूलाई लोभ्याउने र ताजगीको अनुभूति गराउँछ। त्यस्तै, फलफूल र जडीबुटीबाट आउने सुगन्धले पेयको स्वाद चाख्नुअघि नै विशेष अनुभव प्रदान गर्छ।
मकटेल राखिने गिलास, बरफको सजावट, फलफूलका टुक्रा र पुदिनाका पातले यसको सौन्दर्य अझ बढाउँछन्। स्वाद, रङ र बास्नाको सन्तुलित संयोजन नै मकटेलको बढ्दो लोकप्रियताको प्रमुख कारण मानिन्छ।
यहाँ घरमै सजिलै बनाउन सकिने ५ लोकप्रिय मकटेलका रेसिपी प्रस्तुत गरिएको छ।
१. भर्जिन मोजितो
आवश्यक सामग्री : १०–१२ वटा पुदिनाका पात,१ वटा कागती,२ चम्चा चिनी वा चिनीको सिरप,सोडा वा स्पार्कलिङ वाटर र बरफ

बनाउने तरिका : गिलासमा पुदिनाका पात, कागतीका टुक्रा र चिनी राखेर हल्का थिच्नुहोस्। त्यसपछि बरफ थपेर माथिबाट सोडा हाल्नुहोस्। राम्रोसँग चलाएपछि पुदिनाको पातले सजाउनुहोस।
विशेषता : ताजगी दिने यो मकटेल गर्मी मौसमका लागि निकै लोकप्रिय मानिन्छ।
२. वाटरमेलन कूलर

आवश्यक सामग्री : २ कप तरबूजका टुक्रा, १ चम्चा कागतीको रस,१चम्चा मह वा चिनी, बरफ
र केही पुदिनाका पात
बनाउने तरिका :तरबूजलाई ब्लेन्ड गरेर रस निकाल्नुहोस्। त्यसमा कागतीको रस र मह मिसाउनुहोस्। गिलासमा बरफ राखेर मिश्रण हाल्नुहोस् र पुदिनाले सजाउनुहोस्।
विशेषता : तरबूजमा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ।
३. म्याङ्गो स्पार्कल :
आवश्यक सामग्री : १ कप आँपको पल्प,आधा कप सोडा,१ चम्चा कागतीको रस र बरफ

बनाउने तरिका : गिलासमा आँपको पल्प र कागतीको रस मिसाउनुहोस्। बरफ थपेपछि माथिबाट सोडा हाल्नुहोस्। हल्का चलाएर चिसो–चिसो पिउन सकिन्छ।
विशेषता :आँपको मिठास र सोडाको फिजी स्वादले यसलाई विशेष बनाउँछ।
४. स्ट्रबेरी लेमोनेड
आवश्यक सामग्री : ५–६ वटा स्ट्रबेरी,१ वटा कागतीको रस,२ चम्चा चिनी,१ कप चिसो पानी र बरफ

बनाउने तरिका : स्ट्रबेरीलाई ब्लेन्ड गरेर प्युरी बनाउनुहोस्। त्यसमा कागतीको रस, चिनी र पानी मिसाउनुहोस्। बरफ राखेर ग्लासमा राख्नुहोस।
विशेषता : मिठो र हल्का अमिलो स्वाद मन पराउनेहरूका लागि उत्कृष्ट विकल्प हो।
५. पाइनएप्पल जिन्जर फिज

आवश्यक सामग्री : १ कप अनानासको जुस,आधा चम्चा अदुवाको रस, सोडा,बरफ
बनाउने तरिका : पाईन्यापलको जुस र अदुवाको रस मिसाउनुहोस्। गिलासमा बरफ राखेर मिश्रण हाल्नुहोस् र माथिबाट सोडा थप्नुहोस्।
विशेषता : अदुवाको हल्का स्वाद र भुईकटहरको मिठासले फरक अनुभव दिन्छ।











प्रतिक्रिया