काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टिकरण दिने विषयमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अघि सारिएकोप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले असहमति जनाएका छन्। उनले प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्रमन्त्री खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने सहमति भएपछि संसद् बैठक सञ्चालन भएको हो। तर श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री आफैँ उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखेको छ।
प्रतिनिधि सभामा धारणा राख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको तर्फबाट अर्को मन्त्रीले स्पष्टिकरण दिनु न्यायसंगत तथा संविधानसम्मत नहुने बताए। उनले प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गर्दै विवाद उत्पन्न गर्ने अभिव्यक्ति दिने व्यक्ति स्वयंले संसद्मा आएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए।
“प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने कुरा सुन्नमा आएको छ। यसमा हाम्रो सहमति छैन। प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो। उहाँ यहाँ आएर आफ्नो धारणा राख्नुपर्छ। यदि उपस्थित हुन सक्नुहुन्न भने लिखित रूपमा आफ्नो धारणा पठाउनुपर्छ,” साम्पाङले भने।
उनले गल्ती एक जनाले गर्ने र त्यसको बचाउ वा सच्याउने काम अर्को व्यक्तिले गर्ने अभ्यास स्वीकार्य नहुने पनि बताए। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले हालै भारतले मात्र नभई नेपालले समेत भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको छ। सोही विषयलाई लिएर संसद्मा स्पष्टिकरणको माग हुँदै आएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न दबाब दिइरहेका छन्।











प्रतिक्रिया