बाह्रबिसे नगरपालिका र केएमसी अस्पतालबीच सम्झौता, नगरवासीले पाउनेछन् ५०% सम्म छुट



बाह्रबिसे, सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिकाका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरबीच महत्वपूर्ण स्वास्थ्य सेवा सम्झौता भएको छ।

नगर प्रमुख बालकृष्ण बस्नेतको विशेष पहलमा सम्पन्न उक्त सम्झौतापछि नगरपालिकाका नागरिकहरूले विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्। सम्झौताअनुसार ओपीडी (OPD) कार्ड निःशुल्क उपलब्ध गराइनेछ भने बेड शुल्क, ल्याब परीक्षण, सीटी स्क्यान,
एमआरआई, एक्स–रे,इसीजी लगायतका सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी, सम्झौता अवधिभित्र उपचारका लागि अस्पतालमा आउने अन्य बिरामीहरूलाई समेत २०८३ असार ३० गतेसम्म ५० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।

सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका अति विपन्न १० जना बिरामीलाई १०० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध गराइने विशेष व्यवस्था समेत गरिएको छ। यसलाई नगरवासीका लागि महत्वपूर्ण र जनहितकारी पहलका रूपमा हेरिएको छ।

नगर प्रमुख बालकृष्ण बस्नेतले नागरिकको स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माप्रति आभार व्यक्त गरेका छन्।

नगरपालिकाले यो सहकार्यबाट स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने र उपचार खर्चमा उल्लेखनीय राहत पुग्ने अपेक्षा गरेको छ। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको यो पहललाई नगरवासीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।