६ अर्बभन्दा बढी दर्शकले हेरिने अनुमान

विश्वकप २०२६ ऐतिहासिक बन्नेतिर अग्रसर


काठमाडौं ।

विश्व फुटबल महासंग्राम फिफा विश्वकपले फेरि एकपटक विश्व खेल इतिहासमै अभूतपूर्व आर्थिक र दर्शक संख्याको रेकर्ड बनाउने भएको छ । अन्तर्राष्ट्रिय खेल विश्लेषणअनुसार अहिले हुने विश्वकप २०२६ लाई करिब ६ अर्बभन्दा बढी दर्शकले प्रत्यक्ष वा डिजिटल माध्यमबाट हेर्ने भएका हुन् । यससँगै प्रतियोगिता विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगितासमेत बन्ने अनुमान रहेको छ ।

प्रतियोगिताबाट करिब ११ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । यस आम्दानीमा प्रसारण अधिकार, स्पोन्सरसिप, टिकट बिक्री तथा डिजिटल स्ट्रिमिङ प्रमुख स्रोत रहेको बताइएको छ ।

टिकटको मूल्य उच्च मागका कारण केही खेलहरूमा १० हजार अमेरिकी डलरसम्म पुगेको रिपोर्ट सार्वजनिक भएको छ । विशेष गरी सेमिफाइनल र फाइनल खेलका टिकटहरू अत्यधिक महँगो मूल्यमा बिक्री हुने अनुमान छ ।

विजेता टोलीलाई ५० मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । जुन हालसम्मकै उच्च पुरस्कार राशिमध्ये एक मानिएको छ । विश्लेषकहरूका अनुसार विश्वकप केवल खेल प्रतियोगिता मात्र नभई अब एक विशाल आर्थिक उद्योगमा रूपान्तरण भइसकेको छ, जसले खेल, व्यापार र प्रविधिलाई एकैसाथ जोडेको छ ।

विश्वकपको यो संस्करणले दर्शक संख्यादेखि आम्दानीसम्मका सबै क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै खेलकुद इतिहासमा नयाँ अध्याय थपिनेछ ।