काठमाडौं ।
आगामी बिहीबारदेखि सुरु हुन लागेको फिफा विश्वकप २०२६ को नेपालका लागि आधिकारिक प्रसारण अधिकार लिएको एसप्रो मिडिया प्रालिलाई आफ्नो लगानी उठाउन नै ४ लाखभन्दा बढी सब्सक्राइबर पुर्याउनु पर्ने देखिएको छ ।
कम्पनीलाई ५० करोड रुपैयाँ हाराहारीको कूल लागत उठाउन निकै चुनौतीपूर्ण देखिएको छ । कम्पनीले फिफाबाट सोझै करिब २७ करोड २५ लाख रुपैयाँमा मिडिया राइट्स खरिद गरे पनि प्राविधिक व्यवस्थापन, विभिन्न कर र वितरण खर्च जोड्दा लागत दोब्बर पुगेको हो । नेपालको विज्ञापन बजार निकै सानो रहेकाले विज्ञापनबाट बढीमा ८ करोड रुपैयाँ मात्र उठ्ने अनुमान छ । जसका कारण बाँकी ४२ करोड रुपैयाँ उपभोक्ताको सब्सक्रिप्सन शुल्कबाटै उठाउनुपर्ने बाध्यता छ ।
टेलिभिजनका लागि ९९९ रुपैयाँ तथा डिजिटल माध्यम (डीगो एप) का लागि ५४९ र ९९९ रुपैयाँ शुल्क तोकिएको अवस्थामा यो लगानी सुरक्षित गर्न कम्तीमा ४ लाख २० हजार ग्राहक बनाउनुपर्ने हुन्छ । डलरको भाउ बढेर १५३ रुपैयाँ माथि पुग्नु, सरकारी कर र प्राविधिक खर्च उच्च हुनुले गत २०२२ को विश्वकपमा २० करोड २५ लाख लागतको तुलनामा यसपटकको शुल्क झन्डै दोब्बर महँगो भएको हो । यद्यपि, ४ लाखभन्दा बढी ग्राहक जुटाउने विषयमा खेल वृत्तमा आशंका व्यक्त भइरहँदा आयोजकले भने नाफाभन्दा पनि न्यूनतम लागत उठाई नेपाली दर्शकलाई फुटबल देखाउनु नै आफ्नो मुख्य ध्येय रहेको जनाएका छन् ।











प्रतिक्रिया