डीएभी र पुलिस स्कुलबीच रोकिएको फाइनल बुधबार हुने


काठमाडाैं ।

मंगलवार वर्षाका कारण स्थगित भएको तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल बुधवार पुन: हुने भएको छ । मंगलवार वर्षाका कारण फाइनल खेल रोकिनु अघि नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो । माथिल्लाे मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।

सुशील केडिया विश्व भारती स्कुल डीएभीका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान दुई–दुई विकेट हात पारे । १०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । डीएभीका लागि आरुष झा ७ रनमा तथा बिराज जैसवाल शून्य रनमा अविजित छन् । प्रसिद्ध जैशी ६ तथा सत्यम बस्नेत २ रन बनाएर आउट भएका थिए । वर्षा नरोकिएपछि खेल बुधबार बिहान ७ बजेबाट सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजकले जनाएको छ ।