राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप जेठको अन्तिम साता


काठमाडौं ।

नेपालमा साहसिक खेलकुद तथा खेल पर्यटनको विकास र प्रवर्द्धनमा सक्रिय रहँदै आएको नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आगामी जेठ ३० गते ‘राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप–२०२६’ आयोजना गर्ने भएको छ । 

संघले पत्रकार सम्मलेनमार्फत प्रतियोगिता काठमाडौँको कालधारा, ठमेलस्थित काठमाडौँ स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने आधिकारिक जानकारी दिएको हो । विश्व क्लाइम्बिङ महासंघको अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुने यस राष्ट्रिय प्रतियोगितामा देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १७ वर्ष वा सोभन्दा माथिका इच्छुक खेलाडीहरूले उत्साहजनक सहभागिता जनाउन सक्नेछन् । आर्थिक स्रोतको सीमितता र छोटो तयारीका कारण यसपटक प्रतियोगिता केवल ‘बोल्डरिङ’ विधामा मात्र केन्द्रित हुने भएकाले यो प्रतिस्पर्धा एक दिनमै सम्पन्न हुने आयोजकले स्पष्ट पारेका छन् । 

खेलमा सहभागी खेलाडी तथा प्राविधिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रतियोगिता अवधिभरका लागि विशेष बीमाको समेत व्यवस्था मिलाइएको छ । विशेषगरी पुरुष र महिला दुवै समूहमा सञ्चालन हुने यस प्रतियोगितामा प्रारम्भिक क्वालिफिकेसन र फाइनल राउन्ड गरी दुई चरणका प्रतिस्पर्धा हुनेछन् । पहिलो चरणको क्वालिफिकेसन खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुषतर्फका समान आठ–आठ जना खेलाडीहरूले अन्तिम उपाधिका लागि फाइनल चरणमा प्रवेश पाउनेछन् । फाइनल चरणको कडा प्रतिस्पर्धापछि आफ्नो विधामा शीर्ष स्थान हासिल गर्ने विजेताहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । जसअन्तर्गत प्रथम स्थान हासिल गर्नेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।