फिफा विश्वकप समूह ‘आई’ : एमबाप्पेको फ्रान्सलाई हालान्डको नर्वेको चुनौती


काठमाडौं । 

फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ । सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स शोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुसीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स यसपाली तेस्रो उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको छ । प्रतियोगिताका थुप्रै दाबेदारमध्ये फ्रान्स पनि सम्भावित च्याम्पियनको सूचिमा पर्ने टिम हो । किलियन एमबाप्पेको प्रेरणा रहने टिममा ह्युगो इकिटिके, औसमान डेम्बेले र माइकल ओलिसेजस्ता खेलाडीको उपस्थितीले फ्रान्सलाई प्रतियोगिताको मुख्य दाबेदारमध्ये एकका रुपमा उभ्याएको छ । जुनअघि नै खेलिएका मैत्रीपूर्ण खेलमा ब्राजिललाई २–१ तथा कोलम्बियालाई ३–१ को नतिजामा हराएर पनि फ्रान्सले विश्वकपका प्रतिद्धन्द्धीहरुलाई बेलैमा सन्देश दिइसकेको छ । तर, जुनको सुरुआतमा आइभोरी कोष्टसँग २–१ ले पराजित भएको नतिजाले भने फ्रान्सको टिममा समस्या पनि रहेको देखाउँछ ।

फ्रान्सका प्रशक्षिक डिडियर डेशच्याम्पस अमेरिकामा गरिएको टिमको आवागमन तथा प्रशिक्षणलगायतका अन्य व्यवस्थापनसँग त्यति सन्तुष्ट छैनन् । अमेरिकाको कडा सुरक्षा जाँच, नर्वेविरुद्धको खेल हुने मासाचुसेट्सको फक्सबोरोको बाक्लो ट्राफिकलगायतका विषयले डेशच्याम्पसको टाउको दुखाइरहेको छ । ‘यहाँको ट्राफिक निक्कै डरलाग्दो छ । रंगशाला पुग्न नै सवा डण्टाभन्दा बढि लाग्ने अवस्था छ । त्यसले खेलाडीलाई अप्ठेरो पार्छ,’ मार्चमा ब्राजिलसँग मासाचुसेट्समा मैत्रीपूर्ण खेल्दाको स्मरण सुनाउँदै डेशच्याम्पसले विश्वकपको दौरान ति समस्यामा सुधार हुनुपर्ने माग राखेका छन् । सन् २०१२ देखि निरन्तर फ्रान्सेली टोलीको नेतृत्वमा रहेका डेशच्याम्पसले यो विश्वकप टोलीसँग आफ्नो अन्तिम प्रतियोगिता हुने संकेत गरेका छन् । उनले केही अन्तरवार्ताहरुमा विश्वकपपछि राजीनामा गर्ने विचारमा रहेको बताएका छन् ।

फ्रान्स

यसपाली उपाधि जित्न सके फ्रान्स विश्वकप इतिहासमा ३ वा त्योभन्दा बढि पटक विश्व च्याम्पियन बन्ने पाँचौं टिम हुनेछ । विश्वकप इतिहासमा ब्राजिल ५ उपाधिका साथ सबभन्दा माथि छ भने जर्मनी र इटालीले समान ४ पटक उपाधि जितेका छन् । अर्जेन्टिनाको नाममा ३ उपाधि छ । एमबाप्पेले चार वर्षअघि कतारमा भएको विश्वकप २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हर्स्टपछि विश्वकप इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न एमबाप्पे सफल भएका थिए । दोहामा एमबाप्पेले कुल ८ गोल गरेका थिए । फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

२७ वर्षको जोशिलो उमेर र करियरको उच्च फर्ममा रहेका एमबाप्पेले फ्रान्सको राष्ट्रिय टोलीका लागि ५६ गोल गरिसकेका छन् । फ्रान्सेली फुटबलमा उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको दौडमा एमबाप्पे ओलिभर जिरौडभन्दा १ गोलले मात्र पछि छन् । सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपको उपाधि जितेपछि फ्रान्स २०२१ को युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पराजित भएको थियो । विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना तथा युरो २०२४ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग निराश भएको थियो । यसपाली ति सबै निराशा मेटाउँदै डेशच्याम्पसलाई विदाई उपहार दिने फ्रान्स टिमको योजना छ ।

नर्वे

विश्वकपमा नर्वेको यो मात्र चौथो सहभागिता हो । सन् १९९८ यता नर्वे विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फर्किएको यो पहिलो पटक हो । यसपाली नर्वेको टोली विश्वकै सर्वोत्कृष्ट मानिएका २५ वर्षे स्ट्राइकर इर्लिङ हालान्डको नेतृत्वमा हुनेछ । इङ्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका हालान्डको स्कोरिङ फर्म पछिल्ला वर्षहरुमा एकरुपले उच्च छ । पछिल्ला चार सिजनदेखि उनले लगातार सिटीका लागि सर्वाधिक ३० गोल गरिरहेका छन् । नर्वेका लागि उनले ४९ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । युरोपेली छनोट प्रतियोगितामा पनि हालान्डकै प्रेरणामा नर्वेले सफलता प्राप्त गर्दै अमेरिकाको टिकट काटेको थियो । ‘नर्वेलाई विश्वकपमा पुर्याउनु हामी सबैको लागि ठूलो जिम्मेवारी थियो ।

त्यसलाई सफलतासाथ पूरा गरेका छौं,’ हालान्ड भन्छन्, ‘अब विश्वकपमा पनि सफल नतिजाको ठूलो जिम्मेवारी छ । त्यसलाई पनि पूरा गर्नुछ ।’ हालान्ड र नर्वेका लागि आसन्न विश्वकपमा अर्को एउटा ठूलो संयोग पनि जुरेको छ । उनका पिता एल्फीले सन् १९९४ मा अमेरिकामै सम्पन्न विश्वकपमा नर्वेको टिमबाट खेलेका थिए । उत्तर अमेरिकी विश्वकपमा हालान्डसँगै ३० वर्षे एलेक्जेन्डर सोर्लोथ अर्का भरपर्दा स्कोरर हुन् । सँगै मिडफिल्डर मार्टिन ओडेगार्ड, जसले कप्तानका रुपमा टिमको नेतृत्व गर्नेछन्, बाट पनि नर्वेले प्रभावशाली प्रदर्शनको आशा राख्नेछ । तर उनी घुँडा र पाखुराको चोटका कारण वितेको सिजनमा मैदानमा अपेक्षित रुपमा जम्न सकेका थिएनन् । युरोपियन च्याम्पियनसिप २००० पछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो नर्वेको पहिलो उपस्थिती हुनेछ । युरो २००० मा नर्वे समूह चरणबाटै बाहिरिएको थियो ।

सेनेगल

लगातार तेस्रो पटक विश्वकप खेल्न लागेको सेनेगल अफ्रिका कप अफ नेशन्समा हालै मोरक्कोमा भएको विश्व फुटबलकै ठूलामध्येको एक विवादले घेरिएको छ । गत जनवरीमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक मोरक्कोलाई हराएर उपाधि जिते पनि खेलको अन्त्यतिर टिमले देखाएको व्यवहारका कारण सेनेगलले अफ्रिका कप अफ नेशन्सको उपाधि मोरक्कोलाई सुम्पनु परेको थियो । रेफ्रीको निर्णयमाथि असहमति जनाउँदै सेनेगलका खेलाडीले मैदान छोडेका कारण अनुशासनको कार्वाहीस्वरुप अफ्रिकी फुटबल महासंघले उपाधि सेनेगलसँग खोसेर मोरक्कोलाई दिएको थियो । मोरक्कोलाई पेनाल्टी दिने रेफ्रीको निर्णयमा असहमति जनाउने क्रममा प्रशिक्षक पेपे थियाउको निर्देशनमा सबै खेलाडीले मैदान छोड्दा १५ मिनेटसम्म खेल अवरुद्ध भएको थियो । त्यही कारण सेनेगलको उपाधि खोसिए पनि टोलीले उक्त निर्णयविरुद्ध अपिल गरेको छ । सन् २००२ को विश्वकपको पहिलो खेलमै साविक विजेता फ्रान्सलाई हराएर विश्वभर तहल्का मच्चाएको अफ्रिकी महारथी सेनेगल सन् २०२१ मा पनि अफ्रिका कप अफ नेशन्समा च्याम्पियन भएको थियो । 

त्यतिबेला गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै सेनेगलले उपाधि उचालेको थियो । हाल ३४ वर्षमा पुगेका साडियो मानेले निर्णायक पेनाल्टीमा गोल गर्दै सेनेगललाई उपाधि जिताएका थिए । सेनेगल फुटबलका सर्वकालिन उच्च अन्तर्राष्टिर्य गोलकर्ता मानेको नाममा ५५ अन्तर्राष्ट्रिय गोल छन् । विश्वकपको अफ्रिकी छनोट प्रतियोगितामा पनि उनले टिमका लागि सर्वाधिक ५ गोल गरेका थिए । सेनेगलको टोली अमेरिकामा अर्को सनसनीको खोजीमा रहँदा मानेसँगै गोलकिपर इडुवार्ड मेन्डी, मिड्फिल्डर इद्रिसा गुइये र रक्षक कालिडो कौलिबालीबाट उच्च प्रदर्शनको अपेक्षामा हुनेछ । किनकी सेनेगललाई आफूले जितेर पनि अफ्रिका कप अफ नेशन्सको उपाधि खोसिँदा लागेको चोटमा अमेरिकाबाट मल्हम लगाउनुछ । त्यसका लागि टोली विश्वकपमा कम्तिमा पनि अरु अफ्रिकी टोलीको भन्दा राम्रो नतिजा ल्याउन चाहन्छ ।

इराक

एसियाली फुटबलमा आफ्नै खालको रवाफ रहे पनि विश्वकपमा भने इराकको इतिहास त्यति गर्व गर्न लायक छैन । टोली सन् १९८६ यता पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिएको हो । विश्वकपमा ४० वर्षको अनुपस्थिति पूर्नका लागि इराकले अन्तर महादेशीय प्लेअफमा बोलिभियालाई पराजित गरेको थियो । मोन्टेरीमा ३० वर्षे स्ट्राइकर एइमिन हुसेन र अली अल हमादीले गोल गरेपछि बोलिभियालाई २¬–१ को नतिजामा हराउँदै इराके ४८औं टिमका रुपमा विश्वकप २०२६ लाई छानिएको थियो । 

सन १९८६ को मेक्सिको विश्वकपमा इराक समूह चरणमा आयोजक मेक्सिको, बेल्जियम र पाराग्वेविरुद्धका ३ वटै खेलमा पराजित हुँदै घर फर्किएको थियो । आफ्नै देश अस्ट्रेलियालाई दुई फरक कार्यकाल प्रशिक्षकको रुपमा नेतृत्व प्रदान गरेका ग्राहम आर्नोल्ड इराकको प्रशिक्षक हुन् । उनको काँधमा ४० वर्षअघि ३ मा ३ खेल हारेको इराकलाई कम्तिमा १ खेल जिताउने जिम्मेवारी हुनेछ । त्यसका लागि उनलाई एइमिन हुसेन, मोहनाद अली र मिड्फिल्डर मिर अल अम्मारीको साथ हुनेछ ।

समूह ‘आई’ खेलतालिका (नेपाली समयअनुसार)

– फ्रान्स विरुद्ध सेनेगल, १७ जुन, बिहान ००ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)
– इराक विरुद्ध नर्वे, १७ जुन, बिहान ०३ः४५, जिलेट रंगशाला (बोस्टन)
– फ्रान्स विरुद्ध इराक, २३ जुन, बिहान ०२ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– नर्वे विरुद्ध सेनेगल, २३ जुन, बिहान ०५ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)
– नर्वे विरुद्ध फ्रान्स, २७ जुन, बिहान ००ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)
– सेनेगल विरुद्ध इराक, २७ जुन, बिहान ००ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)