असोजमा तेस्रो एभरेष्ट महिला भलिबल लिग हुने


काठमाडौं । 

नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)’ को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने भएको छ । 

आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार विज्ञप्ति जारी गर्दै सहभागी टोली र सरोकारवालाहरूसँगको छलफलपछि दशैँको पूर्वसन्ध्यामा यो मिति तय गरिएको जनाएको हो । एसियाकै पहिलो महिला फ्रेन्चाइज लिगको रूपमा रहेको यस प्रतियोगिताको तेस्रो संस्करणलाई विगतभन्दा अझ वृहत र परिष्कृत बनाउने आयोजकको तयारी छ । यसअघिका दुवै संस्करणको उपाधि कर्णाली यशभिसले जितेको थियो । 

जसमा ६ वटा फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। लिगका टेक्निकल डिरेक्टर जगदीश भट्टले नेपाली महिला भलिबल टोली विश्व वरीयता र एसियाको शीर्ष १० मा समेटिएको तथा एसियन गेम्सका लागि समेत छनोट भइसकेको अवस्थामा यो संस्करण अझ भव्य र उत्कृष्ट हुने बताएका छन् । स्तरोन्नति गरिएको राखेप कभर्डहलमा हुने यस प्रतियोगिताले खेलाडीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै नेपाली महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।