काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिनुभएको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फस्र्यौट गर्नुपर्ने सुझाव दिनुभएको हो ।
सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समितिले गठन गरिसकेको छ । अब विद्युत् महसुल, जरिवानालगायतका विवाद समितिमार्फत पुनरावलोकन गर्न सकिन्छ । अन्य विषयमा प्राधिकरणको व्यवस्थापन नियमित तरिकाबाट अगाडि बढ्नुहोस् ।’ मन्त्री श्रेष्ठको भनाइ थियो ।
उहाँले भन्नुभयो–‘बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्नुपर्दैन । विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेका छन् । यसमा थप निर्णयको आवश्यकता छैन । ऐन, नियममा के छ, प्रक्रिया के हो त्यही अनुसार गर्नुहोस् । कसैलाई काखा कसैलाई पाखा गर्नु छैन । प्राधिकरणको उच्च व्यवस्थापनले बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुभन्दा आफ्नो संयन्त्र परिचालन गर्ने तर्फ ध्यान दिनुपर्छ ।’
डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताउनुभयो । महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपियाँ रहेको छ ।
त्यसमध्ये डेडिकेटेड फिडर तथा ट्रंक लाइन सुविधा लिएका ५९ उद्योगको मात्रै २०८२ पुस मसान्तसम्मको बक्यौता जरिवानासहित २६ अर्ब ९५ करोड ८८ लाख ९ हजार रुपियाँ रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यस्तै, सडक बत्तीतर्फ ९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ, औद्योगिक क्षेत्रतर्फ ८ अर्ब ७७ करोड १३ लाख रुपियाँ तथा शीत भण्डारतर्फ ७ अर्ब १६ करोड ७१ लाख रुपियाँभन्दा बढी बक्यौता रहेको छ ।
प्राधिकरणको तथ्यांकले केही ठूला उद्योगको अर्बौं रुपियाँ बक्यौता केन्द्रित रहेको देखाएको छ । सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको रहेको छ । उक्त उद्योगको बक्यौता ४ अर्ब ६९ करोड ३९ लाख रुपियाँभन्दा बढी छ । त्यसपछि शिवम् सिमेन्टको २ अर्ब ४९ करोड, रिलायन्स स्पिनिङ मिल्सको २ अर्ब १९ करोड, अर्घाखाँची सिमेन्टको १ अर्ब ५० करोड, मारुती सिमेन्टको १ अर्ब ३८ करोड तथा नारायणी स्पात मिल्सको १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको छ । यस्तै त्रिवेणी स्पिनिङ मिल्सको १ अर्ब १ करोड, जगदम्बा इन्टरप्राइजेजको ९७ करोड ४० लाख, अशोक स्टिलको ९६ करोड ९२ लाख, उदयपुर सिमेन्ट उद्योगको ५८ करोड १५ लाख र हुलास स्टिलको ५७ करोड ८० लाख रुपियाँभन्दा बढी बक्यौता रहेको देखिन्छ ।
त्यस्तै यूनाइटेड सिमेन्टको ३९ करोड ८२ लाख, कसमस सिमेन्टको ३८ करोड ७५ लाख, एभरेष्ट पेपर मिलको २३ करोड ६५ लाख, रघुपति जुट मिलको २३ करोड ४ लाख तथा अरिहन्त मल्टिफाइबर्सको २२ करोड २० लाख रुपियाँभन्दा बढी बक्यौता छ ।
उद्योगहरुको बक्यौता रकम
बाबा जुट मिल ६४,८४५,२४६.४२
रघुपति जुट मिल २३०,४२२,७५६.६६
उदयपुर सिमेन्ट उद्योग ५८१,५११,०८२.२६
रिलायन्स स्पिनिङ मिल्स २,१९३,१२१,३६१.७३
निगाले सिमेन्ट प्रा.लि. १४१,६७२,४०५.३०
अरिहन्त मल्टिफाइबर्स २२२,००८,००८.०६
अरिहन्त पोलिप्याक ५९, ५९७,०४९.०६
मारुती सिमेन्ट १,३८२,१९३,७७८.७२
डाबर नेपाल प्रा.लि. ९६,३१५,९८१.१६
त्रिवेणी सिन्थेटिक यार्न १७९,१०७,८५९.७१
हिमाल आइरन एण्ड स्टिल ७६,०४१,९३०.५४
त्रिवेणी स्पिनिङ मिल्स १,०१४,१४४,५७०.६३
नारायणी स्पात मिल्स १,३१३,११८,५२१.६३
जगदम्बा स्टिल ४,६९३,९४५,४९८.९९
जगदम्बा इन्टरप्राइजेज ९७४,०४३,२१३.०३
अशोक स्टिल ९६९,२६७,२४९.१४
हुलास स्टिल ५७८,००१,०६६.५०
हामा आइरन १२१,२९१,६८१.३४
सूर्य नेपाल १६,७०३,६९१.५३
एभरेष्ट पेपर मिल २३६,५७,३९३.६३
कसमस सिमेन्ट फ्याक्ट्री ३८७,५७९,२५६.५३
यूनाइटेड सिमेन्ट ३९८,२७५,६१०.८२
शिवम् सिमेन्ट २,४९१,११०,९३८.०६
हेटौंडा सिमेन्ट १८९,०४५,६१५.१८
जि.बी. टेक्सटायल २,१६७,०४९
जि.एम. टेक्सटायल (दोस्रो) १,८८६,५२९.३७
न्यू नारायणी रबर उद्योग ४१०,३५६.७६
अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज १,५०२,६६२,६१९.०३
विशाल सिमेन्ट इन्डस्ट्रिज ४१,०७६,२३९.३५
शुभश्री अग्नि सिमेन्ट ४१,१७४६,८०२
एभरेष्ट रोलिङ मिल ४२,७२५,६९०.८९
सोना पोलिमर्स २५,८०२,३८६.७६
विनायक स्पात १०,३८८,६८२.०१













प्रतिक्रिया