ओहायोको ओल्ड वेस्ट एन्ड फेस्टिभलमा गोलीकाण्ड : घाइतेको संख्या १२ पुग्यो, शंकास्पद आक्रमणकारी अझै फरार


काठमाडौँ ।

अमेरिकाको ओहायो राज्यस्थित टोलेडो शहरमा आयोजित ‘ओल्ड वेस्ट एन्ड फेस्टिभल’ नजिक भएको गोलीकाण्डमा घाइते हुनेको संख्या १२ पुगेको छ। प्रारम्भिक रूपमा आठ जना घाइते भएको जानकारी आए पनि पछिल्लो अद्यावधिक अनुसार १२ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटना शनिबार साँझ स्थानीय समयअनुसार करिब ५:३० बजे भएको थियो। टोलेडो प्रहरीका अनुसार कम्तीमा दुई जना बन्दुकधारीले एकअर्कालाई लक्षित गर्दै गोली चलाएको आशंका गरिएको छ। गोलीबारीको क्रममा उत्सवमा सहभागी सर्वसाधारणहरू पनि घाइते भएका हुन्।

घाइतेहरूको उमेर १४ वर्षदेखि ६१ वर्षसम्म रहेको छ। अधिकांश घाइते युवावर्गका रहेको प्रहरीले जनाएको छ। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि हालसम्म कुनै पनि शंकास्पद व्यक्तिलाई पक्राउ गर्न सकिएको छैन। प्रहरीले घटनास्थलमा उपस्थित व्यक्तिहरूसँग भिडियो तथा तस्बिर उपलब्ध गराउन आग्रह गरेको छ।

घटनापछि आइतबारका लागि तय गरिएका फेस्टिभलका सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोजकहरूले घोषणा गरेका छन्। आयोजकहरूले समुदाय स्तब्ध र दुःखी बनेको भन्दै पीडितप्रति ऐक्यबद्धता जनाएका छन्।

यसैबीच, लुकास काउन्टी अभियोजन कार्यालयले दोषीहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। अभियोजकहरूले गोलीकाण्डमा संलग्न व्यक्तिहरूलाई घाइते भएका प्रत्येक व्यक्तिसँग सम्बन्धित थप अभियोगसमेत लगाउन सकिने बताएका छन्।

ओहायोका गभर्नर Mike DeWine ले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामुदायिक उत्सवहरू हिंसामुक्त र सुरक्षित हुनुपर्ने बताएका छन्।