काठमाडौँ।
कोशी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदाबारे पुनर्विचार गर्ने संकेत गरेको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत यस विषयमा नागरिकको राय–सुझाव आह्वान गरेका छन्।
मुख्यमन्त्री कार्कीले हालको पाँच दिने कार्यप्रणालीबाट अपेक्षित परिणाम प्राप्त नभएको उल्लेख गर्दै मन्त्रालय तथा मातहतका कार्यालयमा पुनः सातामा छ दिन काम गर्ने व्यवस्था लागू गर्न सकिने संकेत गरेका छन्। उनले शनिबार मात्र बिदा राख्ने पुरानै प्रणाली उपयुक्त हुन सक्ने भन्दै जनताको धारणा जान्न चाहेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “कोशी प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा पुनः साताको छ दिन कार्य सञ्चालन गरी शनिबार मात्र बिदा दिने व्यवस्था लागू गर्दा कस्तो होला? पाँच दिने कार्यसप्ताहबाट न त कार्यदिन पर्याप्त देखियो, न त खर्च र इन्धन बचतमा उल्लेखनीय उपलब्धि हासिल भयो। यस विषयमा तपाईंहरूको सुझाव अपेक्षा गर्दछु।”
संघीय सरकारले इन्धन आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकबाट सातामा दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
तर, उक्त व्यवस्थाप्रति विभिन्न क्षेत्रबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ। सेवाग्राहीले सरकारी सेवा लिन कठिनाइ भएको, अस्पतालका ओपीडी सेवामा प्रभाव परेको तथा विद्यालय र कलेजमा अध्ययन–अध्यापनको तालिका व्यवस्थापन गर्न समस्या भएको गुनासो बढ्दै गएको छ।
यही सन्दर्भमा कोशी प्रदेश सरकारले दुई दिने बिदाको प्रभावकारिताबारे पुनः समीक्षा गर्दै आवश्यक निर्णयका लागि सुझाव संकलन प्रक्रिया अघि बढाएको हो।











प्रतिक्रिया