काठमाडौं
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि ललितपुरले चालु आर्थिक वर्षभित्र थप १०० करोड रुपैयाँ (एक अर्ब) लगानी गर्दै देशकै अत्याधुनिक तथा सम्पूर्ण सुविधा सम्पन्न विशिष्टीकृत क्यान्सर अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । अस्पतालले आगामी तीन वर्षभित्र आफूलाई ‘कम्प्रिहेन्सिभ क्यान्सर अस्पताल’ का रूपमा विकास गर्दै क्यान्सरको सम्पूर्ण परीक्षण, निदान र उपचार सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
अस्पतालको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले नेपालमै विश्वस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पूर्वाधार, प्रविधि, जनशक्ति र अनुसन्धानमा ठूलो लगानी गर्न लागिएको जानकारी दिनुभयो ।उहाँका अनुसार हाल १०० शैयामा सञ्चालन भइरहेको अस्पताललाई विस्तार गरी २०० शैयाको अत्याधुनिक अस्पताल बनाइनेछ । यसका लागि नयाँ भवन निर्माण कार्यसमेत अगाडि बढाइएको छ । विस्तारपछि अत्याधुनिक आईसीयू, विशेष क्याबिन, डे–केयर सेवा, निःशुल्क शैया तथा क्यान्सर उपचारका विभिन्न विशेषज्ञ सेवाहरू थप गरिनेछन् ।
डा. श्रेष्ठले नेपालमा पहिलोपटक निजी क्षेत्रबाट अत्याधुनिक न्यूक्लियर मेडिसिन सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअन्तर्गत पीईटी (पेट)स्क्यान, बोन स्क्यान तथा क्यान्सरको सूक्ष्म पहिचानका लागि आवश्यक अत्याधुनिक परीक्षण सेवा उपलब्ध गराइनेछ । यस्ता सेवाले क्यान्सरको प्रारम्भिक चरणमै रोग पहिचान गर्न, रोगको फैलावट मूल्याङ्कन गर्न तथा उपचारको प्रभावकारिता निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
अस्पतालले मोलिक्युलर बायोलोजी, हिस्टोकेमिस्ट्री तथा अत्याधुनिक प्रयोगशाला सेवासमेत विस्तार गर्ने योजना बनाएको छ । यसबाट बिरामीले विदेशमा गर्नुपर्ने महँगा परीक्षणहरू स्वदेशमै गर्न सक्ने अवस्था सिर्जना हुने अपेक्षा गरिएको छ ।
क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउन फोक्सो, पेट, आन्द्रा, स्तन तथा रगतसम्बन्धी क्यान्सरका लागि छुट्टाछुट्टै विशिष्टीकृत केन्द्र स्थापना गर्ने योजना अस्पतालले सार्वजनिक गरेको छ । ग्यास्ट्रोइन्टेस्टाइनल डिजिज सेन्टर, रेस्पिरेटरी डिजिज सेन्टर तथा भविष्यमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा सञ्चालन गर्ने तयारी भइरहेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
“नेपालका धेरै बिरामी आज पनि जटिल क्यान्सर उपचारका लागि भारत लगायतका मुलुक जान बाध्य छन्,” डा. श्रेष्ठले भन्नुभयो, “हामी नेपालमै सम्पूर्ण सेवा उपलब्ध गराउने गरी अस्पताललाई विकास गर्दैछौं । हाम्रो लक्ष्य कुनै पनि नेपाली बिरामी उपचारका लागि विदेश जान नपरोस् भन्ने हो ।”
अस्पतालले सेवा काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेको छ । यसबाट प्रारम्भिक परीक्षण, परामर्श तथा फलोअप उपचार सेवा स्थानीय स्तरमै उपलब्ध गराउन सकिने विश्वास अस्पतालको छ ।
विशेषज्ञ जनशक्तिको अभावलाई क्यान्सर उपचार क्षेत्रको प्रमुख चुनौतीका रूपमा औंल्याउँदै अस्पतालले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी क्यान्सर विशेषज्ञ चिकित्सक, नर्स, रेडियोथेरापी प्राविधिक तथा अन्य स्वास्थ्यकर्मी उत्पादनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । फेलोसिप, सुपर स्पेसियालिटी तथा अन्य उच्चस्तरीय तालिम कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गरिनेछ ।
डा. श्रेष्ठले नेपाललाई दक्षिण एसियाकै आकर्षक मेडिकल टुरिजम गन्तव्य बनाउन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । नेपालमा उपचार खर्च तुलनात्मक रूपमा कम हुनु, प्राकृतिक वातावरण अनुकूल हुनु तथा भिसा प्रक्रिया सहज भएकाले विदेशी बिरामी आकर्षित गर्न सकिने उहाँको विश्वास छ ।
यद्यपि निजी स्वास्थ्य क्षेत्रले अझै पनि नीतिगत चुनौती भोगिरहेको भन्दै उहाँले अत्याधुनिक उपकरण आयातमा लाग्ने उच्च कर, अनुमति प्रक्रियाको जटिलता तथा मर्मतसम्भार खर्चले स्वास्थ्य क्षेत्रमा लगानी गर्न कठिनाइ भइरहेको बताउनुभयो । क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण तथा प्रविधिमा कर सहुलियत, एकद्वार अनुमति प्रणाली र प्रभावकारी सार्वजनिक–निजी साझेदारी नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।
“नेपालको स्वास्थ्य सेवाको ठूलो हिस्सा निजी क्षेत्रले धानेको छ,” डा. श्रेष्ठले भन्नुभयो, “सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य हुन सके नेपाल क्यान्सर उपचारमा आत्मनिर्भर बन्न मात्र होइन, दक्षिण एसियाकै महत्वपूर्ण उपचार केन्द्रका रूपमा स्थापित हुन सक्छ ।”
अस्पतालले आगामी तीन वर्षभित्र अत्याधुनिक प्रविधि, विशेषज्ञ सेवा, अनुसन्धान, शिक्षण तथा उपचारलाई एकीकृत गर्दै नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउने लक्ष्य लिएको जनाएको छ । तर सरकारले भने नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण र कर थप गरेको बिषयमा गुनासो गर्दै स्वास्थ्यमा लगाएको कर र बजेटबाट बिरामीको थाप्लोमा बोकाएको ३ प्रतिशत कर खारेजीको माग गर्दै नयाँ सरकारले यस्ता बिषयमा लगानीकर्ता, विज्ञ र नीजी क्षेत्रसँगपनि बसेर छलफल गरि नीति बनाओस भन्नुभयो ।
अस्पताले यहि आउदो शुक्रवार नवौ बार्षिकोत्सव कार्यक्रम मनाउन लागेको जानकारी गरएको छ ।











प्रतिक्रिया