काठमाडौं ।
अर्जेन्टिनाका सर्वकालीन महान् फुटबलर लियोनेल मेसी खेलकुद क्षेत्रकै निकै प्रतिष्ठित सम्मान ‘प्रिन्सेस अफ अस्तुरियास अवार्ड फोर स्पोर्ट्स’ बाट सम्मानित भएका छन् । बुधबार, जुन ३ मा अवार्डको निर्णायक मण्डल (जुरी) ले मेसीको असाधारण खेल करियर र समाजमा उनले पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो ऐतिहासिक निर्णय गरिएको हो । जुरीका अनुसार मेसीको मैदानभित्रको जादुमयी कौशल मात्र नभई उनको परोपकारी कार्य र विश्वभरका लाखौं युवाहरूका लागि उनी प्रेरणाको स्रोत बनेका कारण यो सम्मान प्रदान गरिएको हो ।
स्पेनकै सबैभन्दा प्रतिष्ठित पुरस्कारहरूमध्ये एक मानिने यस अवार्डले कला, सामाजिक विज्ञान र खेलकुद जस्ता विभिन्न क्षेत्रमा विश्वव्यापी रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तित्व वा संस्थाहरूलाई समेट्ने गर्दछ । जसमा यस वर्ष मेसीको नाम थपिएपछि उनको ‘सर्वकालीन महान् खेलाडी’ को विरासत अझ मजबुत बनेको छ । विशेष कुरा त के छ भने, सन् १९८७ देखि प्रदान गर्न थालिएको यस पुरस्कारको इतिहासमा व्यक्तिगत रूपमा यो अवार्ड जित्ने मेसी पहिलो फुटबलर बनेका छन् ।
यसअघि कुनै पनि फुटबल खेलाडीले एक्लै यो सम्मान पाएका थिएनन् । फुटबल जगतबाट यसअघि सन् २०१२ मा स्पेनका फुटबलरद्वय इकर कासिलास र जाभी हर्नान्डेजलाई संयुक्त रूपमा यो अवार्ड दिइएको थियो भने सन् २०१० को विश्वकप विजेता स्पेन राष्ट्रिय फुटबल टोली र सन् २००२ को विश्वकप विजेता ब्राजिल राष्ट्रिय फुटबल टोलीले सामूहिक रूपमा यो गौरव हासिल गरेका थिए । फुटबलबाहेक अन्य खेलका सामूहिक टोलीहरूमा सन् २०१७ मा न्युजिल्यान्डको प्रसिद्ध रग्बी टोली ‘अल ब्ल्याक्स’ र सन् २०२२ मा ‘रिफ्युजी ओलम्पिक टिम’ यस विधाबाट सम्मानित भइसकेका छन् ।
मेसी यो अवार्ड जित्ने खेलकुद जगतका ती सीमित र ऐतिहासिक दिग्गजहरूको सूचीमा सामेल भएका छन्, जसले खेल इतिहासमै अमिट छाप छाडेका छन् । यसअघि यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने विश्वचर्चित खेलाडीहरूमा टेनिस स्टार सेरेना विलियम्स (सन् २०२५), ब्याडमिन्टनकी कारोलिना मारिन (सन् २०२४), म्याराथनका जादुगर एलिउड किपचोगे (सन् २०२३), टेनिसका राजा राफेल नडाल (सन् २००८) र फर्मुला वान रेसिङका दिग्गज माइकल शुमाकर (सन् २००७) रहेका छन् । त्यस्तै, फर्नान्डो अलोन्सो (सन् २००५), एथ्लेटिक्सका हेइली गेब्रसेलासी (सन् २०११) र कार्ल लुइस (सन् १९९६) ले पनि यो सम्मान पाइसकेका छन् भने सन् १९८७ मा पहिलो संस्करणको विजेता बन्ने इतिहास एथ्लेटिक्सकै सेबास्टियन कोको नाममा रहेको छ ।











प्रतिक्रिया