काठमाडौं ।
कहिलेकाहीँ फुटबल केवल खेल मात्र रहँदैन, मुटु नै च्यातिए झैं पीडा दिने एउटा निर्मम कथा बनिदिन्छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा बुधबार त्यस्तै भयो । जहाँ साफ च्याम्पियनसिपको उपाधि चुमेर इतिहास रच्ने देशका करोडौं खेलप्रेमीको सपना खेल सकिनै लाग्दा चकनाचुर भयो ।
खेलको २३औं मिनेटमा गीता रानाले दर्शनीय गोल गर्दा नेपाली टोली अंकमाल गर्दै खुसी भएको थियो । तर, खेल सकिँदा भने त्यही टोली मैदानमै आँसु बगाइरहेको थियो । निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएर खेल पेनाल्टी सुटआउटतर्फ धकेलिनै लाग्दा ६ मिनेटको इन्जुरी समयको चौथो मिनेटमा एउटा अभागी गोल नेपाली गोलपोष्टमा छिरेपछि मैदानमा रहेका नेपाली दर्शक माझ सन्नाटा छायो ।
विगत १० वर्षमा पहिलो पटक नेपाल फाइनल पुग्न असफल हुँदा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको अनुहारमा छाएको त्यो निराशा र चेलीहरूको सामूहिक रोदनले हरकोही नेपालीको मन अमिलो बनायो । यो हारले बंगलादेशसँगको पुरानो बदला लिने अवसर मात्र खोसेन, नेपाली फुटबल इतिहासकै एउटा सुनौलो पुस्तालाई ट्रफी बिना नै घर फर्कन बाध्य बनायो ।
यो खेल प्राविधिक रणनीतिभन्दा पनि मैदानको गति र बेन्चबाट बुनिएको दाउपेचको एउटा सनसनीपूर्ण नाटक जस्तो थियो । नेपालले खेलको सुरुवातमै आक्रामक दवाब सिर्जना गर्दै अग्रता त लियो । तर, ३६औं मिनेटमा प्रीति राईको सशक्त प्रहार क्रसबारमा ठोक्किएर बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । रक्षापंक्ति र गोलकिपर बीचको सानो कमजोरीको फाइदा उठाउँदै बंगलादेशकी ऋतुपर्ना चक्माले पहिलो हाफकै इन्जुरी समयमा कर्नरबाट सिधै बराबरी गोल फर्काएपछि खेलले नाटकीय मोड लियो ।
दोस्रो हाफमा रेखा पौडेलको प्रहार पोलमा लाग्नु र दीपा शाहीले पाएको मौका गुम्नु नेपालका लागि प्रत्युत्पादक बन्यो । बंगलादेशका प्रशिक्षकले मैदानमा वैकल्पिक खेलाडीको रुपमा उतारेकी मोसम्मत सागोरिका नै अन्ततः नेपालका लागि ‘ट्रम्प कार्ड’ साबित भइन् ।
खेलको ९० मिनेटपछिको समयमा बंगलादेशको एउटा क्रसलाई क्लियर गर्न खोज्दा बल प्रीतिको घुँडामा लाग्दै आत्मघाती गोलका रूपमा जाली चुम्न पुग्यो । जसलाई सागोरिकाको नाममा दर्ता गरियो । त्यही एउटा प्रहारले बंगलादेशी क्याम्पमा उत्साह थप्यो भने नेपाली टोलीलाई स्तब्ध बनाउँदै बंगलादेशलाई लगातार तेस्रो पटक फाइनलको टिकट दिलायो ।
खेलमा हार र जित प्राविधिक कुरा हुन् । तर, नेपाली चेलीहरूले मैदानमा देखाएको जुझारुपन सधैं प्रेरणादायी रहनेछ । भाग्यले यसपटक नेपालको साथ नदिए पनि यो हारको अर्थ नेपाली महिला फुटबलको अन्त्य किमार्थ होइन । खेलको अन्तिम सेकेन्डसम्म पनि मैदानमा पसिना बगाउँदै लडिरहने प्रीति, रेखा, दीपा र कप्तान अञ्जिलाको यो उर्जाले निराशाभित्र पनि एउटा बलियो आशा जगाएको छ । १० वर्षमा पहिलो पटक फाइनल पुग्न नसक्नु एउटा विश्राम मात्र हो, मैदानमा बगेका यी आँसुहरू भोलिको सुनौलो जितको बलियो जग बन्नेछन् ।
साफ महिला च्याम्पियनसिपमा नेपालको नतिजा
–२०१० उपविजेता –भारतसँग १–० ले पराजित
–२०१२ उपविजेता– भारतसँग ३–१ ले पराजित (नेपालको लागि दीपा अधिकारीले गोल गरेकी)
–२०१४ उपविजेता – भारतसँग ६–० ले पराजित
–२०१६ सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित (नेपालको लागि सावित्रा भण्डारीले गोल गरेकी)
– २०१९ उपविजेता –नेपालमै भएको प्रतियोगितामा भारतसँग ३–१ ले पराजित (नेपालको लागि सावित्रा भण्डारीले गोल गरेकी)
–२०२२ उपविजेता –नेपालमै भएको प्रतियोगितामा बंगलादेससँग ३–१ ले पराजित (नेपालको लागि अनिता बस्नेतले गोल गरेकी)
–२०२४ उपविजेता –नेपालमै भएको प्रतियोगितामा बंगलादेससँग २–१ ले पराजित (नेपालको लागि अमिशा कार्कीले गोल गरेकी)
–२०२६ सेमिफाइनलमा बंगलादेससँग २–१ ले पराजित (नेपालको लागि गीता रानाले गोल गरेकी)











प्रतिक्रिया