पेरिस, (एजेन्सी)।
जर्मनीका नम्बर एक खेलाडी एलेक्जान्डर ज्वेरेभ फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । विश्व दुई नम्बर ज्वेरेभले स्पेनका राफाएल जोदारलाई सीधा सेटमा पराजित गरेका हुन् । मंगलबार भएको क्वार्टरफाइनल खेल उनले ७–६, ६–१, ६–३ ले जिते । योसँगैं ज्वेरेभको पहिलो ग्रान्डस्लाम उपाधि जित्ने संभावना पनि बलियो भएको छ ।
उपाधिका दावेदारहरू एकपछि अर्को गर्दै प्रतियोगिताबाट बाहिरिएको अवस्थामा ज्वेरेभ अहिले उपाधि जित्नेमा अगाडि आएका हुन् । उनले अहिलेसम्म ग्रान्डस्लाम उपाधिको स्वाद चाख्न पाएका छ्रैनन् । उनी तीन पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेपनि तीनै पटक हारको सामना गर्नु परेको थियो ।
अहिले ज्वेरेभका लागि मेडन ग्रान्डस्लाम उपाधि जित्ने सुन्दर अवसर रहेको छ । उनलाई हराउने खेलाडीहरू सबै प्रतियोगिताबाट बाहिरिसकेका छन् । डिफेन्डिङ च्याम्पियन स्पेनी खेलाडी कार्लोस अल्काराज, विश्व नम्बर एक इटालीका जानिक सिन्नर र पूर्व विश्व नम्बर एक सर्बियाली खेलाडी नोभाक जोकोभिच बाहिरिएका हुन् । ज्वेरेभ कार्लोससँग २०२४ को फ्रेन्च ओपनको फाइनलमा ५ सेटमा र सिनरसँग २०२५ को अस्टे«लियन ओपनको फाइनलमा सीधा सेटमा हारेका थिए ।
एन्ड्रीभा र कोस्टुयुक सेमिफाइनलमा
महिलातर्फ रसियन खेलाडी मीरा एन्ड्रीभा र यूक्रेनकी मार्टा कोस्टुयुक सेमिफाइनलमा पुगेका छन् । एन्ड्रीभाले रोमानियाकी सोराना कर्सटियालाई ६–०, ६–३ ले पराजित गरेकी हुन् ।
यस्तै, कोस्टुयुकले उनकै राष्ट्रकी एलीना स्विटोलीना तीन सेटमा ६–३, २–६, ६–२ ले पन्छाएकी हुन् ।











प्रतिक्रिया