नेपाल एसियन गेम्सको लागि छनोट


काठमाडौं, (नेस) ।

मलेसियाले चीनलाई हराएसँगैं नेपाल समूहको अन्तिम खेल खेल्न अगावै आगामी एसियन गेम्समा छनोट भएको छ ।

समूहमा तीन टोली मात्रै रहेको हुँदा मलेसिया पनि यो जितले एसियन गेम्समा छनोट भयो । चीन भने लगातार दोस्रो हारसँगैं एसियन गेम्समा पुग्न सकेन । समूहको अन्तिम खेलमा नेपाल र मलेसियाले बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

सिंगापुरमा भइरहेको एसियन गेम्स छनोटअन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ को फराकिलो रनअन्तरले हराएको थियो । चीन दोस्रो खेलमा मलेसियासँग ९ विकेटले पराजित भएको थियो ।

चार टोली एसियन गेम्समा
एसियन गेम्स छनोटअन्तर्गत् पुरुष क्रिकेटतर्फ ४ टोलीले आगामी जापानमा हुने एसियन गेम्समा स्थान सुरक्षित गर्नेछन् । नेपाल र मलेसिया छनोट भएपछि अब,, दुई टोली छनोट हुन बाँकी छ ।

समूह ए मा नेपाल, मलेसिया, चीन र कतार रहेका छन् । कतारले नाम फिर्ता लिएपछि नेपालको समूहमा ३ टोलीले मात्रै खेलेका हुन् । समूह बी मा ओमान, बहराइन, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । यस समूहमा ओमान र हङकङले आ–आफ्नो पहिलो खेल जितेका छन् ।

नेपाल क्वार्टरफाइनलसम्म पुगेको
चीनको हांगझोउमा भएको गत एसियन गेम्स २०२३ मा नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो । समूह चरणमा कीर्तिमानी जित निकालेर अन्तिम आठमा पुगेको नेपाल भारतसँग २३ रनले हारेको थियो । यस पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण, अफगानिस्तानले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए । ।

महिला टोली असफल
नेपालको महिला क्रिकेट टोली भने एसियन गेम्समा छनोट हुन सकेको छैन । गत एसियन गेम्समा पनि खेल्न नपाएको नेपाली टोली यसपटक पनि छनोट हुन सकेन । एसियन गेम्सअन्तर्गत महिला क्रिकेट छनोटअन्तर्गत् तेस्रो स्थानको लागि भएको खेलमा नेपाल चीनसँग पराजित भएको थियो । महिला क्रिकेटतर्फ थाइल्यान्ड, मलेसिया र चीनले आगामी एसियन गेम्समा स्थान बनाएका हुन् ।

पुरुष क्रिकेटतर्फ छनोट भएका टोलीहरूः नेपाल भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका, जापान, मलेसिया, दुई टोली छनोट हुन बाँकी छ ।
महिला क्रिकेटतर्फ छनोट भएका टोलीहरूः भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जापान, चीन, मलेसिया र थाइल्यान्ड ।