नेपालले कतारलाई हरायो


काठमाडौं ।

नेपालले कतारलाई सहजै ८ विकेटले हराएको छ।
टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै कतारलाई १६.५ ओभरमा ७६ रनमा अल आउट गर्यो ।

जवाफमा नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि बिन्दु रावल र उप कप्तान पूजा महतोले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

ओपनर सम्झना खड्का ३ रनमा आउट भएपछि अर्की ओपनर बिन्दुलाई पूजाले राम्रो साथ दिइन् । बिन्दु ३० बलमा ४ चौकासहित सर्वाधिक ३३ रन बनाएर आउट भइन् ।

त्यसपछि पूजा र कप्तान इन्दु बर्माले तेस्रो विकेटका लागि नटआउट २० रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। २६ बल खेलेकी पूजाले ४ चौकासहित २८ रन जोडिन् । इन्दु ६ रनमा नटआउट रहिन् ।

कोलेज टुआन्कु जाफार ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको कतारले १६।५ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनायो ।

कतारका लागि ओपनर गितरुडु चण्डिरुले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन बनाइन् । कप्तान आयसाले ११ बलमा १० रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि पूर्व कप्तान रुविना‌ क्षेत्रीले सर्वाधिक ३.५ ओभरमा ८ रन खर्चेर ३ विकेट लिइन् । कविता कुवँर, रिया शर्मा र पूजाले समान १ विकेट लिए ।

महिला एसिया कपको छनोटका रुपमा रहेको प्रिमियर कपमा १८ राष्ट्रको सहभागिता छ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। सेमिफाइनल पुग्ने टोली एसिया कपका लागि छनोट हुनेछन्। नेपालले समूह चरणमा भुटान र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले भोलि भुटानसँग खेल्नेछ।

मलेसियामा गत साता सम्पन्न एसियाली खेलकुद छनोटमा नेपाल चौथो भएको थियो। शीर्ष ३ टोली एसियाडका लागि छनोट भएका छन्। तेस्रो स्थानको खेलमा नेपाल चीनसँग डिएल मेथडमा ५ विकेटले पराजित भएको थियो।