मुगु । सदरमुकाम गमगढीदेखि करिब चार घण्टाको पैदल उकालो यात्रापछि पुगिने पर्यटकीय स्थल मालिकीमा अहिले स्तरीय सिँढीसहितको पदमार्ग निर्माण भइरहेको छ । कर्णाली प्रदेशका पहिलो सगरमाथा आरोही तथा पूर्वधावक अक्कल बोहोराको व्यक्तिगत लगानीमा उक्त क्षेत्रमा सिँढीसहितको बाटो निर्माण गरिएको हो ।
छायानाथ रारा नगरपालिका–थार्पका बासिन्दा बोहोरा हाल स्पेनमा रहे पनि उनले आफ्नो कमाइको केही हिस्सा मुगुको सामाजिक तथा पर्यटन विकासमा खर्च गर्दै आएका छन् । उनकै पहलमा मालिकी क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित सिँढी निर्माण थालिएको हो ।
हालसम्म यहाँ करिब २ हजार ७ सय सिँढी निर्माण सम्पन्न भइसकेको छ । आगामी दिनमा थप विस्तार गर्दै करिब पाँच किलोमिटर लम्बाइसम्म सिँढीसहितको बाटो पु¥याउने लक्ष्य रहेको बोहोराले बताए । ‘मालिकीमा पर्यटकीय सम्भावना धेरै छ तर प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ’, बोहोराले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई सहज पहुँच बनाउने उद्देश्यले सिँढी निर्माणलाई निरन्तरता दिएका छौँ ।’
मालिकी हिकालको टुप्पोमा धार्मिक महत्व बोकेको मालिकी मन्दिर छ । उक्त स्थानबाट मुगु, बाजुरा, हुम्ला, जुम्ला र डोल्पासहितका हिमाली भू–भागका मनमोहक हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । साथै प्रसिद्ध रारा तालसमेत स्पष्ट देख्न पाइने स्थानीयले बताएका छन् ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र हिमाली दृश्यावलोकनका कारण मालिकी क्षेत्र पर्यटन विकासका हिसाबले अत्यन्त सम्भावनायुक्त मानिए पनि हालसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधार विकास हुन सकेको छैन । स्थानीयवासीले निजी स्तरबाट भइरहेको यस्तो प्रयासले मुगुको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छन् ।











प्रतिक्रिया