पाँचखाल (काभ्रे) ।
अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस–२०२६ का अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाले विश्व शान्ति स्थापना, द्वन्द्व रोकथाम तथा दिगो स्थायित्वका लागि शान्ति सैनिकहरूको क्षमता अभिवृद्धिमा थप लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
कार्यक्रमका प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली शान्ति सैनिकहरूले विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति, सुरक्षा र मानवताको संरक्षणका लागि पु¥याएको योगदान नेपालको गौरवको विषय भएको बताउनुभयो ।
उहाँले शान्ति सैनिकमा गरिएको लगानीले विश्वमा दिगो शान्ति र स्थायित्व स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्षम, दक्ष र प्रविधिमैत्री जनशक्ति विकास अपरिहार्य रहेको धारणा राख्नुभयो ।
उहाँले यस वर्षको अन्तर्राष्ट्रिय दिवसको नारा ‘शान्तिमा लगानी गरौं’ले द्वन्द्वग्रस्त मुलुकहरूलाई स्थायित्व र दिगो शान्तितर्फ उन्मुख गराउन महत्वपूर्ण सन्देश दिएको बताउनुभयो ।
‘शान्ति सैनिकहरू विश्वभरका लाखौं द्वन्द्वपीडित नागरिकका लागि आशा र भरोसाको आधार बनेका छन् । नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त र मूल्यप्रति सधैं प्रतिबद्ध र अटल रहेका छन्,’ उहाँले भन्नुभयो ।
प्रधानसेनापति सिग्देलले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैनिक तथा प्रहरी परिचालन गर्ने अग्रणी राष्ट्रहरूमध्ये एक रहेको उल्लेख गर्दै नेपाली शान्ति सैनिकहरूले जटिल र चुनौतीपूर्ण परिस्थितिमा समेत उच्च अनुशासन, इमान्दारिता, व्यावसायिकता र समर्पणका साथ जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेना युद्धकार्य निर्देशक उपरथी अनुपजंग थापाले आधुनिक द्वन्द्वको बदलिँदो स्वरूप, क्षेत्रीय अस्थिरता तथा बहुआयामिक सुरक्षा चुनौतीहरूले शान्ति अभियानलाई थप जटिल बनाएको बताउनुभयो । उहाँले शान्ति सैनिकहरूको दक्षता, प्रविधिमैत्री क्षमता तथा द्रुत प्रतिकार क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली सेना भविष्यउन्मुख शान्ति अभियानमा योगदान दिन प्रतिबद्ध रहेको बताउनुभयो ।
उपरथी थापाले नेपाली सेनाको शान्ति स्थापना यात्राबारे जानकारी दिँदै नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि सन् १९५८ देखि शान्ति मिसनमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउनुभयो । उहाँका अनुसार हालसम्म नेपाली सेना ४४ वटा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भइसकेको छ ।
फेब्रुअरी २०२६ सम्मको तथ्यांकअनुसार नेपाली सेनाले विश्वका विभिन्न शान्ति मिसनमा १ लाख ६२ हजार ४ सय ९६ जना शान्ति सैनिक परिचालन गरिसकेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ७७ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना घाइते भएका छन् ।
सन् १९८६ मा स्थापना भएको उक्त केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिनुअघि सैनिकहरूलाई आवश्यक पूर्वतयारी तालिम प्रदान गर्दै आएको छ । केन्द्रले वार्षिक रूपमा चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिकलाई तालिम दिने गरेको जानकारी दिइयो ।
गौरवसहितको शान्ति मूल भावनाअनुरूप सञ्चालन भइरहेको केन्द्रले संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय अभ्यास, सेमिनार, कार्यशाला तथा ज्ञान आदानप्रदानका कार्यक्रममार्फत केन्द्रलाई विश्वस्तरीय शान्ति कार्य तालिम केन्द्रका रूपमा विकास गर्ने प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ ।
नेपालले विगत सात दशकभन्दा लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमार्फत विश्व शान्ति स्थापनामा निरन्तर योगदान पु¥याउँदै आएको छ । नेपाली शान्ति सैनिकहरूको व्यावसायिकता, निष्पक्षता, अनुशासन र समर्पणका कारण नेपाल अन्तर्राष्ट्रिय शान्ति अभियानमा विश्वसनीय र सम्मानित साझेदार राष्ट्रका रूपमा स्थापित भएको कार्यक्रममा जोड दिइयो ।











प्रतिक्रिया