प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यसबारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरे ।

“प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु,” उनले भने ।

उनले प्रधानमन्त्रीले बोलेको विषय चियाचौतारीको गफजस्तो नभएको टिप्पणी गरे । “यो सामान्य कुरा होइन । चिया पसलमा बोलेको कुरा होइन,” उनले भने ।