जिदानका छोरा लुकासहित अल्जेरियाको विश्वकप टोली घोषणा


काठमाडौं ।

फ्रान्सका महान खेलाडी जिनेदिन जिदानका छोरा लुका जिदानलाई समेट्दै फिफा विश्वकप २०२६ का लागि अल्जेरियाली टिमको घोषणा गरिएको छ ।

फ्रान्सको यू–२० टोलीबाट खेलिसकेका २८ वर्षीय गोलरक्षक लुकाले आफ्ना हजुरबुबा–हजुरआमाको जन्मभूमिलाई रोज्दै अल्जेरियाबाट अन्तर्राष्ट्रिय खेल जीवन अघि बढाएका हुन् । यसअघि अफ्रिका कप अफ नेसन्समा पहिलो रोजाइका गोलरक्षक रहेका लुका गत अप्रिलमा स्पेनिस क्लब ग्रनाडाबाट खेल्ने क्रममा बङ्गारा र चिउँडो भाँचिने गम्भीर चोटबाट गुज्रिएका थिए । उनका पिता जिनेदिन जिदानले सन् १९९८ को विश्वकप फाइनलमा दुई गोल गर्दै फ्रान्सलाई उपाधि दिलाएका थिए भने २००६ को फाइनलमा गोल गरेर पनि रातो कार्ड खाँदै मैदान छाडेका थिए, जुन फुटबल इतिहासकै एक स्मरणीय क्षण हो।

मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिकले घोषणा गरेको यस टोलीमा म्यानचेस्टर सिटीका पूर्व स्टार एवं हाल साउदी क्लब अल अहलीमा आबद्ध ३५ वर्षीय अनुभवी फरवार्ड रियाद महरेजले पनि स्थान बनाएका छन् । टोलीमा पुराना र प्रभावशाली खेलाडीहरूको पुनरागमनले अल्जेरियाली क्याम्प उत्साहित बनेको छ । टोटेनहमका पूर्व मिडफिल्डर तथा हाल फ्रान्सेली क्लब लिलमा सक्रिय ३१ वर्षीय नबिल बेन्तालेब सात महिनापछि टोलीमा फर्किएका छन् ।

बेन्तालेबले सन् २०१४ को ब्राजिल विश्वकपमा अल्जेरियाको प्रतिनिधित्व गरेका थिए, जुन विश्वकपमा अल्जेरियाको पछिल्लो सहभागिता समेत थियो । उनीसँगै चोटका कारण वर्षको सुरुवाती समयमा मोरक्कोमा आयोजित अफ्रिका कप अफ नेसन्स गुमाएका हुसेम अउआरले पनि टोलीमा पुनरागमन गरेका छन् । यसपटकको विश्वकपमा अल्जेरिया कठिन मानिएको समूह ‘जे’ मा रहेको छ, जहाँ उसले साविक विजेता अर्जेन्टिना, अस्ट्रिया र जोर्डनको सामना गर्नेछ ।

Skip This