बन्धक बनाएर फिरौती माग्ने गिरोह प्रहरी फन्दामा, आकर्षक जागिर र राम्रो कमाईको प्रलोभनमा फसाईएका ४ सय ५३ नेपालीको भारतवार उद्धार

1.22k
Shares

बुटवल ।

भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ नेपालीलाई जिल्ला प्रहरी कार्यालय,रुपन्देही ल्याइएको छ । उनिहरूलाई बेलहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालय रूपन्देही ल्याएर पीडित र पीडक वारे छुट्याउन छानबिन थालिएको प्रहरीले जनाएको छ । भारतबाट आठ वटा बसमा सिधैं जिल्ला प्रहरी पुर्याइएका उनीहरुलाई पालैपालो बसबाट उतारेर अनुसन्धान भइरहेको छ ।उनिहरूलाई शनिवार मध्यान्ह कुशीनगरबाट बेलहिया नाका हुँदै नेपाल ल्याइएको थियो ।

भारतस्थित नेपाली दूतावासको पहल र समन्वयमा नेकवर्किङ विजनेशको कार्यालयबाट उनीहरुलाई उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीसँगैं दूतावासका कर्मचारी पनि रुपन्देही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीले नेटवर्किङ मार्केटिङका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको जानकारी गराउनु भयो ।

नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले ६ महिनासम्म अध्ययन गरेपछि उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसित समन्वयमा उद्धार कार्य सफल तुल्याइएको बताउनु भयो । मनग्गे कमाई हुने प्रलोभन देखाएर नेटवर्किङ मार्केटिङमा लगाउने र पछि आफूले भने बमोजिम नभएमा त्यहाँ पुगेका युवालाई मानसिक तनाव दिने गरेको प्रहरी समक्ष पीडितले बताएका छन । यसका सञ्चालन कर्ता र पीडित दुबै नेपाली पाइएको बताईएको छ । एउटैं कोठामा १५–१६ जना सम्म सुताइएको र गर्मीमा राहत पुग्ने कुनै व्यव्सथापन नगरिएको दयनिय अवस्था रहेको थियो ।

उक्त संस्थाबाट उम्किएका व्यक्तिको गुनासोपछि उद्धारका लागि पहल गरेको प्रहरीको भनाई रहेको छ । यसअघि आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।

नेपाल प्रहरीको अपरेसनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गरेको बताइएको छ । त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । जागिरको प्रलोभनमा त्यहाँ पुर्याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको बताइएको छ ।

प्रहरीले पीडितलाई आफन्तको जिम्मा लगाउने र पीडकमाथि थप अनुसन्धान गरिने जनाएको छ । चार दिनको निरन्तर प्रयासपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गर्न सफल भएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनु भयो ।