ललितपुर।
बुद्धधर्मको प्रचार–प्रसारमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी भिक्षुणी नेक्खमी (गुरुमां) लाई शनिबार ललितपुरमा सार्वजनिक अभिनन्दन गरिएको छ । एक शताब्दी लामो जीवनयात्रामा बुद्धको ज्ञान, दर्शन र शिक्षालाई समाजमा फैलाउन पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याकंन गर्दै विभिन्न बौद्ध तथा सामाजिक संस्थाले गुुरुमांलाई अभिनन्दन गरेका हुन् ।



सो अवसरमा अखिल नेपाल भिक्षुमहासंघ, अन्तर्राष्ट्रिय भिक्षुणी संघ नेपाल, ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिका– १६, थ्याका टोल सुधार समिति, लोकाकीर्ति महाविहार, श्रीसुमंगल विहार र उनको परिवारले गुरुमांलाई अभिनन्दन पत्र प्रदान गरेका थिए । सो अवसरमा वक्ताहरूले बुद्धधर्मको अध्ययन, अभ्यास र शिक्षण मार्फत समाजमा शान्ति, नैतिकता र सद्भाव प्रवद्र्धन गर्न गुरुमांले खेलेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै उहाँप्रति सम्मान व्यक्त गरेका थिए।।



१९८२ सालमा ललितपुरको नकबहीमा जन्मिएका गुरुमांले ४५ वर्षको अवसरमा गृहस्थ जीवन त्याग गरी भिक्षुणी भएका थिए । २०२७ साल बैशाख कृष्ण अष्टमीको दिन धुलिखेलस्थित पूर्वाराम विहारमा भिक्षु रत्नज्योति महास्थविरको उपाध्यायत्व र भिक्षुणी दान पारमी गुरुमांको आचार्यत्वमा उनी भिक्षुणी दिक्षा लिएका थिए। बुद्धको ज्ञान, दर्शन अध्ययन गरी त्यसलाई फैलाउन उहाँको उल्लेखनीय योगदान रहेको नेपालका संघनायक (जेष्ठ भिक्षु ) बोधिसेन महास्थविरले बताए ।
सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु पञ्ञारतनंले बुद्ध धर्मको औपचारिक शिक्षण नेपाल बौद्ध परियति शिक्षा पढाउन, भिक्षुसंघको सहयोगमा गुरुमांको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै त्यसको कदर गर्न पाउनु गौरवको विषय रहेको धारणा राखें ।
सो अवसरमा अभिनन्दन समारोह समितिका संयोजक हर्षरत्न शाक्यले गुरुमांले आफनो पुरा जीवन बुद्धधर्ममा समर्पण गरेकोको परिवारले गौरव गर्दै अभिनन्दन गरिएको बताए ।
परिवारजनकातर्फबाट बौद्ध व्यक्तित्व समेत विश्वन्तर शाक्यले उहाँ सय वर्षसम्म बाँच्ने नेपालको पहिलो भिक्षुणी रहेको जनाउँदै त्यस्ता व्यक्तित्वको कदरबाट समाजमा शान्ति र सकारात्मक उर्जा मिल्ने विश्वास व्यक्त गरे। सो अवसरमा गुरुमांको सुस्वास्थ्य, दीर्घ जीवनको कामना गरी भिक्षुणी संघ, गुरुमांहरुबाट परित्राण पाठ गरेका थिए ।
सो अवसरमा सयौं भिक्षुभिक्षुणी र उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो।











प्रतिक्रिया