काठमाडौं।
क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव देखिएपछि नेपाल औषधी आयातकर्ता संघ (मियान) ले समुचित वितरण तथा अनुगमनका लागि विशेष इकाई गठन गरेको छ। संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गठन गरिएको उक्त इकाईले औषधी व्यवस्था विभागसँग समन्वय गरेर अस्पतालमा उपचाररत बिरामीसम्म आवश्यक औषधी पहुँच गराउने जनाएको छ।
संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधी ‘सिस्पाटिन’ र ‘कार्वोप्लाटिन’सँगै नर्मल स्लाइन तथा डीएनएसजस्ता अत्यावश्यक औषधिको अभाव रहेको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार हाल ती औषधिको मौज्दात प्राथमिक तहमा बढीमा एक साताका लागि तथा बजारमा दुई सातासम्मका लागि मात्रै रहेको छ। संघले अत्यधिक प्रयास गरेमा तीन सातासम्म आपूर्ति धान्न सकिने जनाएको छ।
संघले विगत १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसकेको, विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको तथा पश्चिम एशियामा देखिएको द्वन्द्वका कारण ढुवानी, बीमा, उत्पादन र आपूर्ति श्रृङ्खलामा गम्भीर असर परेको दाबी गरेको छ।
औषधिको नियमित आपूर्ति सहज बनाउन सरकारले मूल्य समायोजनतर्फ ध्यान दिनुपर्ने संघको माग छ।
यसैबीच, औषधी व्यवस्था विभागले क्यान्सरविरुद्ध प्रयोग हुने औषधिको अभावप्रति आफू सजग रहेको जनाएको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले अत्यावश्यक औषधिको उपलब्धता, मौज्दात अवस्था र आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको जानकारी दिइन्।
विभागले प्लाटिनम समूहका औषधिसहित अन्य अत्यावश्यक औषधिको सहज आपूर्तिका लागि सम्बन्धित निकाय, उत्पादक, आयातकर्ता तथा सरोकारवालासँग समन्वय र पहल भइरहेको जनाएको छ।
विभागले औषधिको मौज्दात, वितरण अवस्था, आयात तथा निकट भविष्यको आपूर्ति सम्बन्धी यथार्थ विवरण संकलन गर्न सम्बन्धित उत्पादक, आयातकर्ता र अस्पताललाई निर्देशन दिएको छ। विभागद्वारा उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरी गुगल फर्ममार्फत प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म विवरण उपलब्ध गराउन भनिएको छ।












प्रतिक्रिया