रविलाई इन्दिरा रानाको प्रश्न- सुकमबासी व्यवस्थापनमा पार्टीको धारणा के हो ?


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुमबासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छन् ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोशी प्रदेशबाट निर्वाचित रास्वपा सांसदहरूसँग छलफल गरेका थिए । सो क्रममा सांसद राना मगरले स्थानीय तहहरूले सुकुमबासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको औपचारिक धारणा आवश्यक रहेको बताएकी हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही स्थानीय तहले केन्द्रीय सरकारको निर्देशन भन्दै सुकुमबासी बस्ती हटाउन सूचना जारी गरिरहेकोप्रति आपत्ति जनाइन् । उनले लालपूर्जा भएका नागरिकलाई समेत उठ्न नोटिस दिने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले कतिपय ठाउँमा जग्गाको मूल्यभन्दा बढी कर उठाइएको गुनासो समेत आएको बताइन् । साथै, नदी संरक्षण कानूनअनुसार आवश्यक भए पनि अव्यवस्थित रूपमा बस्ती हटाउने काम उचित नहुने उनको भनाइ थियो ।

सांसद राना मगरले काठमाडौंमा भएको सुकुम्बासी हटाउने घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु गलत भएको बताइन् ।

उनले भनिन्, ‘सुकुमबासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको स्पष्ट धारणा आउनुपर्छ । अहिले स्थानीय सरकारले व्यवस्थापनको नाममा जे पायो त्यही गरिरहेको छ । लालपूर्जा भएका नागरिकलाई पनि नोटिस दिएर उठ्न भनिएको छ । नदी हडपेर बस्नु गलत हो, तर व्यवस्थापनको नाममा मनपरी गर्नु पनि ठीक होइन ।