दर्ता नगरी मासु, दाना पसल तथा डेरी संचालन

0
Shares

उदयपुर ।

उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका मासु पसलहरु दर्ताविना सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले गरेको बजार अनुगमनका क्रममा सदरमुकाम गाईघाट क्षेत्रका अधिकांश मासु पसल आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको भेटिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार र बिहीबार जिल्लाको कटारी बजार तथा गाईघाट बजार क्षेत्रमा संयुक्त अनुगमन गरेको थियो । भेटेरिनरी नियमन कार्यक्रम अन्तर्गत गरिएको उक्त अनुगमनमा मासु पसल, दुध डेरी, भेटेरिनरी औषधि पसल, माछा पसल तथा दाना सप्लायर्सहरुको अवस्था निरीक्षण गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका कार्यालय प्रमुख सुक्रराज लिम्बुका अनुसार कटारी बजारमा २७ वटा तथा गाईघाट बजारमा १४ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धेरै मासु पसलहरु स्थानीय तह तथा सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन भइरहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

अनुगमन टोलीका सदस्य मिन सुवेदी का अनुसार अनुगमन गरिएका पसलमध्ये २५ वटा मासु पसल, ८ वटा दुध डेरी, ५ वटा भेटेरिनरी औषधि पसल, २ वटा माछा पसल र १ वटा दाना सप्लायर्स रहेका थिए । अनुगमनका क्रममा कतिपय पसलमा सरसफाइको कमी, दर्ता प्रमाणपत्र नभएको, मूल्यसूची नराखिएको तथा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गरिएको पाइएको जनाइएको छ ।

विशेषगरी गाईघाट क्षेत्रका मासु पसलहरु बिना दर्ता सञ्चालन भएको विषयलाई गम्भीर रूपमा लिइएको कार्यालयले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्री बिक्री गर्ने व्यवसाय कानुनी मापदण्डअनुसार सञ्चालन हुनुपर्ने भए पनि कतिपय व्यवसायीले त्यसको बेवास्ता गरेको अनुगमन टोलीको निष्कर्ष छ ।

यसैबीच कटारी नगरपालिका–४ स्थित कुखुराको दाना बिक्री गर्ने ‘प्रपोज सप्लायर्स’मा म्याद गुज्रिएको कुखुराको दाना फेला परेको छ । अनुगमन टोलीले पसलबाट २४ बोरा म्याद नाघेको दाना बरामद गरी नष्ट गरेको जनाएको छ । म्याद सकिएको दाना बिक्री वितरण गर्दा पशु स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले तत्काल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । दर्ताविना सञ्चालन भइरहेका व्यवसायलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ भने उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।