‘मानव जीवन अमूल्य छ, यसलाई माटोमा नमिसाउनुहोस् है ।अहिले त पाइएको छ, फेरि कहिल्यै पाइँदैन, कहिल्यै पनि पाइँदैन ।’
यसको अर्थ के हो ? मेरा लागि, तपाईंका लागि, जो जीवित हुनुहुन्छ ! यसको अर्थ के हो भने, तपाईंका लागि प्राप्त भएको यो समय अनमोल छ । ’अनमोल’ भन्नुको अर्थ यसको मूल्य नै तोक्न सकिँदैन । यदि तपाईं त्यस्तो अनमोल वस्तु खर्च गरेर पैसाको मूल्य तोक्न सकिने कुनै चिज किन्दै हुनुहुन्छ भने तपाईंलाई के भनिन्छ होला ? मानौँ तपाईं तरकारी किन्न पसलमा जानुहुन्छ । दुईवटा भन्टाका लागि ठूलो हीरा दिनुहुन्छ । त्यो हीराको बदलामा भन्टा माग्नुहुन्छ । त्यो हीरा साँचो हो भन्ने कुरा थाहा भएपछि त्यस व्यक्तिले तपाईंलाई के भन्ला ? ‘कति मूर्ख मानिस रहेछ !’ यस्तो व्यवहार गर्नुभएपछि त तपाईंले आफूलाई नै मूर्ख भन्नुपर्छ । कुरा त ठीक हो नि ! यद्यपि तपाईंले आफूलाई त निकै बुद्धिमान् ठान्नुहुन्छ । हरेक प्रश्नको उत्तर तपाईंसँगै छ भनेर तपाईंलाई लाग्छ ।
तर कहिल्यै आफूलाई सोध्नुहुन्न, ‘म के गरिरहेको छु ? मलाई प्राप्त यो अमूल्य अवसर, मलाई प्राप्त यो जीवनलाई म कसरी खर्च गरिरहेको छु ?’
आज मानिसको क्रोध असाध्यै बढेको छ । स–साना कुरामा पनि मानिसहरू कति छिटो रिसाउँछन् । कसैले यहाँ कार राखिदियो, कसैले त्यहाँ राख्यो, कसैले अनावश्यक रूपले हर्न बजायो भने तुरुन्तै रिस उठिहाल्छ । के तपाईं यस पृथ्वीमा रिसाउनकै लागि जन्मिनुभएको हो ? किन ? संसारमा चोरी बढ्दै छ, घटिरहेको छैन । रिस बढिरहेको छ, मानिसहरू युद्ध गरिरहेका छन् । ‘शान्ति, शान्ति’ भन्नेहरूले शान्तिका कुरा पनि गरिरहेकै छन् तर त्यसबाट केही पनि हुँदैन ।
यदि ‘शान्ति, शान्ति’ भनेरै शान्ति हुन्थ्यो भने त ‘पैसा, पैसा’ भन्नेले कहिल्यै गरिब हुनुपर्ने थिएन । तर, सबैभन्दा मूल प्रश्न नै हामीले ‘म को हुँ ?’ भन्ने कुरै बिर्सन्छौँ ।
एउटा उदाहरण दिन चाहन्छु । कहिलेकाहीँ मानिसको टाउकोमा चोट लागेपछि उनीहरूले आफू को हो, नाम के हो, परिवार को हो भन्ने कुरा बिर्सन्छन् । सबै कुरा बिर्सन्छन् । कोमाबाट ब्युँझेपछि स्मृति हराउँछ । त्यसपछि उनीहरू आफ्नो घर देख्छन् तर यो आफ्नै हो भनेर चिन्दैनन् । श्रीमतीलाई देख्छन् तर चिन्दैनन् । छोरालाई देख्छन् तर यो मेरो आफ्नै छोरो हो भनेर चिन्दैनन् । नातेदारहरूलाई पनि चिन्दैनन् । स्मरण नै हरायो भनेर कसरी थाहा पाउने ? किनभने, जसलाई चिन्नुपर्ने हो उसैलाई चिन्न सकेको छैन । त्योभन्दा पनि ठूलो कुरा त के हो भने, उनले आफैँलाई समेत चिन्दैनन् । नाम के हो, कहाँ बस्छन् ? केही पनि थाहा हुँदैन । स्मरणशक्ति नै गुमेको हुन्छ ।
यसरी नै हामीले पनि हाम्रा लागि कस्तो कानुन छ भनेर बिर्सेका छौँ । तीनवटा नियम छन्– पहिलो, तपाईं जन्मनुभयो । दोस्रो, तपाईं जीवित हुनुहुन्छ । तेस्रो, एकदिन तपाईं जानुहुनेछ । तपाईंको पहिचान केवल यही हो ।
तपाईं कति छिटो निराश हुनुहुन्छ ? तपाईं कति छिटो रिसाउनुहुन्छ ? कति छिटो तपाईं आफ्नो कर्मलाई दोष दिनुहुन्छ ? बुझ्ने क्षमतालाई तपाईं कुनरूपमा प्रयोग गर्दै हुनुहुन्छ ? किनभने, जुन दृष्टिले तपाईंले हेर्नुपर्ने हो तपाईं त्यो दृष्टिले हेर्नै जान्नुहुन्न । वास्तवमा तपाईंले तपाईं को हुनुहुन्छ भन्ने कुरै बिर्सनुभएको छ । तपाईं आफूले आफूलाई नै चिन्नुहुन्न भने ती सृष्टिकर्तालाई कसरी चिन्न सक्नुहुन्छ ? त्यो शक्तिलाई कसरी पहिचान गर्न सक्नुहुन्छ ?
जहाँ प्रेम हुँदैन, त्यहाँ कुनै सम्बन्ध हुँदैन । यदि प्रेम नै छैन भने श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि हुँदैन । प्रेम छैन भने आमा–बुबाबीचको सम्बन्ध पनि हुँदैन । प्रेम छैन भने दाजु–बहिनीबीचको सम्बन्ध पनि हुँदैन । यस विपरीत प्रेम छ भने त्यहाँ कुनै सम्बन्ध नभए पनि सम्बन्ध हुन्छ ।
प्रेम एउटा गजबको कुरा हो । कुनै सम्बन्ध छैन भने पनि प्रेम भएपछि सबै कुरा हुन्छ । यसकारण तपाईं को हुनुहुन्छ अनि तपाईंभित्रको सम्भावना के छ भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यस आनन्दबाट तपाईं आफ्नो जीवनलाई भरिपूर्ण तुल्याउन सक्नुहुन्छ । त्यो आनन्दको कुनै सीमा नै हुँदैन । दुःखको सीमा हुन्छ तर सुखको अनुभवको कुनै सीमा नै हुँदैन ।
यस संसारमा दुई किसिमका मानिस हुन्छन् । अन्तिम क्षणमा कि त ‘मैले अझै केही गर्न बाँकी छ’ भन्ने चिन्ता हुन्छ कि जीवनमा आनन्दै आनन्द भयो । तपाईं (सृष्टिकर्ता) लाई धेरै–धेरै धन्यवाद ! किनभने तपाईंले यो अवसर दिनुभयो, यो जीवन दिनुभयो भन्ने लाग्छ । जो व्यक्तिले आफ्नो जीवनमा त्यस चिजको अनुभव गरेको हुन्छ, त्यो आनन्दको अनुभव गरेको हुन्छ उसका लागि त सदैव आनन्द नै आनन्द हुन्छ ।
यो संसारमा बुझ्नुपर्ने र जान्नुपर्ने कुराहरू धेरै छन् । तथापि, सबैभन्दा ठूलो कुरा के हो भने, जति पनि कुराहरू हामी सुन्छौँ अनि बुझ्छौँ– तिनलाई हामी व्यवहारमा पनि ल्याउन सक्छौँ कि सक्दैनौँ ! किनभने, यदि कतै नदी बगिरहेको छ, फल लागिरहेको छ, त्यसलाई उपभोग गर्ने र त्यसको आनन्द लिने मानिस छैन भने यसको अर्थ हो– कतै न कतै त्यस्ता मानिस पनि बसेका होलान् जहाँ नदी नहोला, पानी नहुँदो हो । जहाँ फलपूmल पनि नहुन सक्छ । किनभने, हामी आफ्नो जीवनमा यसरी नै हामीलाई आवश्यक पर्ने चिजहरूबाट टाढिन्छौँ, चाहनाबाट होइन । जसरी हामीलाई पानीको आवश्यकता पर्छ । हामीलाई हावाको आवश्यकता पर्छ । खाना हाम्रो लागि आवश्यक हुन्छ । हामीलाई सुत्नुपर्ने आवश्यकता रहन्छ । तातोपनको हामीलाई आवश्यकता रहन्छ । धेरै जाडो पनि होइन अनि धेरै गर्मी पनि होइन । तर, के हामी कहिल्यै सोच्छौँ– शान्ति पनि हाम्रो आवश्यकता हो । हाम्रो हृदय आनन्दले भरियोस्, यो पनि हाम्रै आवश्यकता हो । चाहना होइन, आवश्यकता हो । किनभने, यसको अभावमा पूरै जीवन अधुरो रहन्छ । यस्तो लाग्छ– बाँचिरहेका छौँ तर किन बाँचिरहेका छौँ, यही कुरा नै थाहा हुँदैन ।
हामीसँग आपूmले आपूmलाई चिन्ने ज्ञान हुनुपर्छ । जुन चिज हामीभित्र छ, त्यस चिजलाई चिन्ने ज्ञान हुनुपर्छ । यदि त्यस्तो ज्ञान छैन भने त मानिस भौँतारिनेछ । किनभने, उसलाई शान्ति चाहिएको छ । उसलाई आनन्द चाहिएको छ । तर, यी कुराहरूका बारेमा हामी सोचिरहेका हुँदैनौँ, किनभने यस कुराका बारेमा हामीलाई बताइएको हुँदैन । हामीलाई के भनिएको हुन्छ भने– नोकरी गर, यो गर, त्यो गर । त्यसपछि मात्रै तिम्रो जीवन आनन्दमय हुनेछ ।
तथापि, के हामीले कहिल्यै यो सोध्यौँ, ‘कुनचाहिँ यस्तो व्यक्ति छ, जसको जीवन आनन्दले भरिपूर्ण छ !’
वास्तवमा यो मायाको प्रकृति नै दुःख दिने खालको हुन्छ । सुख त एउटै चिजमा छ, त्यो चिज तपाईंभित्र विराजमान छ । त्यही चिजमा सुख र आनन्द छ । यस संसारका हरेक वस्तुबाट कुनै न कुनै रूपमा आनन्द पाइएला तर त्यस्तो आनन्द हुँदैन जुन हामीभित्र स्थित आनन्द हुन्छ । केही क्षणको खुशी अवश्य प्राप्त हुनेछ, जस्तो तपाईं चलचित्र हेर्नका लागि जानुहुन्छ । तपाईंलाई चलचित्र राम्रो लाग्छ तर केही घण्टाकै लागि मात्र आनन्द प्राप्त हुन्छ । त्यसपछि के गर्छौँ– कोही के गर्नेछौँ, कोही केही गर्नेछौँ । किनभने, मानिस आनन्दलाई खोजिरहन्छ । उसलाई त्यो वास्तविक आनन्द चाहिन्छ अनि उसले त्यसलाई प्राप्त गर्न कहाँ–कहाँ खोज्दैन र ! उसले सोच्छ, ‘यदि मैले सारा संसारलाई कुनै तरिकाले आफ्नो नियन्त्रणमा राखेँ भने मलाई शान्ति प्राप्त हुनेछ । म संसारको सबैभन्दा शक्तिशाली मानिस हुनेछु ।’ यद्यपि त्यसमा पनि उसलाई आनन्द प्राप्त हुँदैन ।
एउटा कथा छ ‘सिकन्दर’ को । उनी अत्यन्तै शक्तिशाली राजा थिए । उनी जब हिन्दूस्थानमा आए उनलाई ‘देलीबेली’ (यात्राजन्य सङ्क्रमणयुक्त एक प्रकारको झाडापखाला) का बारेमा थाहा थिएन । उनी बिरामी भए । त्यसपछि उनले फर्केर जानुपर्ने भयो । उनी फर्किसकेपछि आफ्नो शरीर त्यागे । उनले मृत्युभन्दा पहिला भनेका थिए, ‘मेरो शरीर पूरा भएपछि मलाई गाड्नका लागि लिएर जाँदा मेरो हातलाई बाहिर निकालिदिनू । किनभने म संसारलाई के देखाउन चाहन्छु भने– ‘म खाली हात आएको थिएँ अनि खाली हात नै यो संसारबाट जाँदै छु । मसँग जे–जे छन्, जति पनि मेरो सम्बन्ध छ, नातागोता छन्, जे जति मैले कमाएँ, मैले जे–जे गरेँ ती चिजलाई म साथमा लिएर जान सक्दिन ।’
यदि हामीले यस संसारमा रहनु छ र जेसुकै गर्नुपरे पनि हामीले आपूmभित्र रहेको चिजलाई चिन्नु र पहिचान गर्नु एकदमै आवश्यक छ । किनभने, यो संसारमा रहँदा हामीलाई आनन्दको आवश्यकता पर्दछ । शान्तिको आवश्यकता पर्दछ । जब हामी दुःखी हुन्छौँ, हामीभित्र बसेका एकमात्र उनी छन्, जसले हामीलाई बचाउन सक्छन् । यदि हामीले कसैको सहारा खोज्यौँ भने उनैले हामीलाई सहारा दिन सक्छन् । यो संसारमा हामी जे–जे गर्छौँ, त्यो एउटा जालो नै हो । तर, त्यसलाई हामी देख्न सक्दैनौँ । जसरी माकुराको जालो हुन्छ तर त्यसलाई हामी देखिरहेका हुँदैनौँ । जस्तो माकुराको जालो हुन्छ त्यसलाई झिँगाले देख्न सक्दैन अनि फस्न पुग्छ । त्यसपछि ऊ जति निस्कने कोशिश गर्छ त्यति नै ऊ अभैm त्यसमा फसिरहन्छ ।
संसारको जालो पनि यस्तै जालो हो । समाजले के भनिरहेको छ, समाजका मानिसहरू कसरी रहिरहेका छन्– तिनै कुराहरूमा मानिस अल्झिरहेको छ । परिणामतः वास्तविक चिज उसबाट टाढा रहिरहन्छ । त्यो वास्तविक चिज कहाँ छ ? त्यो हामीभित्र नै छ । तर, अब मानिसले आपैmँले आपैmँलाई समेत चिन्न सकिरहेको छैन । उसले म यहाँ किन आएको हुँ भन्ने कुरालाई भुलेको छ । किनभने, योजना त योजना नै हो । योजना सधैँ तपाईंले बनाएजस्तै भइरहँदैन । कुनै बेला त्यो तपाईंले चाहेको जस्तो नहुन पनि सक्छ । तब मान्छेलाई अचम्म लाग्न थाल्छ, ‘मलाई किन यस्तो भइरहेको छ ? मैले त्यस्तो के कुरा गरेँ होला !’ हामी के बिर्सन्छौँ भने– हामीलाई जे हुन्छ, त्यसमा हामी स्वयं नै जिम्मेवार छौँ । त्यसका लागि भगवान्लाई दोष दिनु उपयुक्त हुँदैन ।
मानिसहरू बाहिरको कुराबाट हैरान हुन्छन्, ‘मलाई यस्तो किन हुन्छ, उस्तो किन हुन्छ ?’ तथापि, भित्रको संसारमा निराशा हुँदैन, त्यहाँ आशा हुन्छ । त्यहाँ अँध्यारो हुँदैन, उज्यालो हुन्छ । त्यहाँ प्रश्न हुँदैन, उत्तर हुन्छ । अनि, त्यो स्थान तपाईंभित्रै छ । तपाईंको हृदयमा छ । केवल त्यस चिजलाई चिन्नु आवश्यक छ । त्यस चिजलाई चिन्नुहोस् अनि तपाईंको जीवनमा पनि आनन्द नै आनन्द हुनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया