स्थानीय सरकारको राजश्वबारे अन्तरक्रिया : आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योगी–व्यवसायीसँग सहकार्यमा जोड


काठमाडौँ।

ललितपुर महानगरपालिका र ललितपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको स्थानीय सरकारको राजश्व सम्बन्धी अन्तरक्रियामा धारणा राख्ने वक्ताहरूले आत्मनिर्भर अर्थतन्त्र तयार गर्न उद्योगी व्यवसायीहरुबीच सहकार्य हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

अन्तरक्रियामा सहभागीहरुले राखेका जिज्ञासा र चासोहरुलाई सम्बोधन गर्नुहुँदै ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले व्यवसायीसंग करको मात्रै आश गर्ने भन्दा पनि रोजगारीको अवसर सृजना गरेर आत्मनिर्भर अर्थतन्त्र तयार गर्न समन्वय र सहकार्य गर्नुपर्छ भन्नुभएको हो।

“उद्यमी व्यवसायी प्रति हामीले सम्मान गर्नुपर्छ, व्यवसाय र व्यवसायीहरुको संरक्षण र सम्मान योग्य वातावरण तयार गर्न महानगरले ध्यान दिन्छ, दुई तीन वर्षदेखि उद्यमी व्यवसायीका समस्या सुन्दै आएको छु, राष्ट्रिय पूँजी पलायन हुने वातावरणलाई अन्त्य गर्न हामीले प्रभावकारी अर्थनीति आवश्यक छ।” उहाँले भन्नुभयो।

उहाँले सरकारी कर्मचारीले सबै कुराको समाधान दिन्छ भनेर सोच्नु भन्दा पनि करको दायरालाई व्यवस्थापन गर्नेगरी नीतिगत व्यवस्था गराउन व्यवसायीहरुले नै जोड दिनुहोस् भन्ने आग्रह गर्नुभयो।

“सबै क्षेत्रका समस्या समाधान गर्नका लागि हामी ध्यान दिएर लाग्छौं, अहिले उद्योग व्यवसायको अवस्था ठीक छैन, व्यवसायीहरु मारमा परेका छन्, जोगाउने दायित्वलाई ध्यान दिएर लाग्छौ, पूँजी, भूमि, श्रम र समयको लगानी गरेर गरेको व्यवसायलाई सफल बनाउन हामीले जोड दिनुपर्छ, संघीय सरकारका कारण समाधान नभएको कुरामा स्थानीय सरकारले गर्न सक्दैन, स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएका व्यवस्थालाई सहज बनाएर दिन मिल्नेसम्म छुट दिएर सहजीकरण गर्छौं।” उहाँले भन्नुभयो।

उपप्रमुख बज्राचार्यले प्रगतिशील करलाई जोड दिएर नवउद्वारबाद अर्थतन्त्रको विकास गर्न लाग्नुपर्छ भन्दै न्युनवर्गको पीडालाई सम्बोधन गर्न हामी ध्यान दिएर लाग्छौं भन्नुभयो।

उहाँले पार्किङलाई व्यवस्थापन गर्ने र पार्किङको व्यवसायलाई पनि व्यवस्थापन गर्नेतर्फ महानगरले जोड दिएको र खाली ठाउँलाई पार्किङ बनाउन पनि प्रयास गरिरहेको बताउनुभयो। उहाँले यो वर्षको नीति तथा कार्यक्रममा राखेर फूटपाथ व्यवसायलाई व्यवस्थापन गर्न जोड दिन्छौं भन्नुभयो।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्थानीय सरकारको कर संकलनलाई एकद्वार प्रणालीमा व्यवस्थापन गरिनुपर्छ भन्नुभयो। उहाँले फिनल्यान्डमा प्रत्येक नागरिकले ९० प्रतिशत कर सहजै तिर्छन भन्दै नेपालमा नागरिकले सामान्य प्रतिशत कर पनि सहजै निर्न नसक्ने वातावरण किन हुँदैछ भनेर सोच्नुपर्छ, नागरिकले सहज रुपमा कर तिर्न आउने र तिर्न सक्ने वातावरण बनाउनुपर्छ ।भन्नुभयो।

अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले राजश्व संकलनमा स्थानीय तहले करदातालाई सहुलियत र सुविधा दिएर संकलन गर्ने नीति लिनुपर्ने धारणा राख्नुभयो। उहाँले करको दरलाई समायोजन, संख्यालाई न्युनिकरण गरेर दायरालाई फराकिलो बनाउँदै सहज रुपमा कर तिर्नु सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले व्यवसाय राम्रोसँग फस्टाउँदा मात्रै कर तिर्नेहरुको संख्या बृद्धि हुने भन्दै यसकालागि अध्ययन गरेर नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो।

ललितपुर महानगरपालिकाको राजश्व परामर्श समितिका निर्देशक सहजीत राईले महानगरमा १ लाख २२ हजार २६७ करदाता रहेकोमा गतवर्ष ५१ हजार ७३३ करदाताहरुले कर तिरेको र १२ हजार ९४२ करदाताले नियमित कर तिर्नेगरेको जानकारी गराउनुभयो। उहाँले स्थानीय राजश्व प्रवर्द्धनमा ललितपुर उद्योग बाणिज्य संघको महत्त्वपूर्ण योगदान रहँदै आएको जानकारी गराउनुभयो।

महानगरको राजश्व महाशाखाका प्रमुख तिलकबहादुर थापाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उठेको राजश्व गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको भन्दा २८ प्रतिशतले बढि रहेको भन्दै राजश्व प्रवर्द्धनका लागि उद्योगी, व्यवसायी र स्थानीय करदाताहरु समेतको सहयोग आवश्यक हुने बताउनुभयो।

उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले हामी समाज र समुदायमा व्यापार व्यवसाय र धर्म संस्कृति संगसंगै जोडिएर आउने भन्दै व्यापारका साथै निजी क्षेत्रले सेवाको काम पनि गरिरहेकोले निजी क्षेत्रलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ८० प्रतिशत राजश्व व्यापार व्यवसायबाट संकलन हुने धारणा राख्नुभयो।

उद्योग बाणिज्य संघका राजश्व समितिका संयोजक पूर्णबहादुर महर्जनले महानगरले उद्योगी व्यवसायीहरुलाई विकासका साझेदारका रुपमा हेर्दै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।