बैंकिङ कसुरमा २ करोड ५८ लाख बिगोका फरार प्रतिवादी कलङ्कीबाट पक्राउ


काठमाडौं ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुर बस्दै आएका ४६ वर्षीय हर्कबहादुर बुढालाई बुधबार काठमाडौंको कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८२ पुस १ गते बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी गरेको थियो । अदालतबाट पक्राउ अनुमति जारी भएपछि उनी फरार रहेका थिए ।

उक्त मुद्दामा बुढामाथि २ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।