नेपाल-अमेरिका सुरक्षा सहकार्य झल्काउने ‘पुलिस सप्ताह २०२६’ सम्पन्न


काठमाडौं ।

नेपालस्थित अमेरिकी दूतावासको साझेदारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालद्वारा आयोजित ‘पुलिस सप्ताह २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमले नेपाल र अमेरिकाबीचको सुरक्षा तथा कानुन कार्यान्वयन सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता उजागर गरेको दूतावासले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत क्रिस्टोफर रेनोल्ड्स नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेल तथा क्षेत्रीय सुरक्षा अधिकारी विल्बर्ट भनले संयुक्त रूपमा गरेका थिए । उद्घाटनसँगै ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रमअन्तर्गत अमेरिकी दूतावास, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले ५ के, १० के र २० के दौड, साइकलिङ, हाइकिङ, फुटबल तथा कानुन कार्यान्वयनसम्बन्धी प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

समापन समारोहमा अमेरिकी कार्यवाहक राजदूतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले सुरक्षा निकायबीचको सहकार्य, समन्वय र आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए ।

अमेरिकी दूतावासले ‘पुलिस सप्ताह २०२६’ ले नेपालका सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्नुका साथै समुदायको सुरक्षाका लागि उनीहरूले पुर्‍याउँदै आएको योगदानप्रति कृतज्ञता व्यक्त गरेको जनाएको छ । दूतावासका अनुसार अमेरिकामा पनि प्रत्येक वर्ष ‘पुलिस सप्ताह’ का अवसरमा कानुन कार्यान्वयन क्षेत्रमा कार्यरत सुरक्षाकर्मी तथा उनीहरूका परिवारको त्याग र समर्पणलाई सम्मान गर्ने परम्परा रहेको छ ।