छायाँनाथ अल्ट्रा रेसमा धीर र सुनमाया पहिलो

0
Shares

मुगु ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर बुढा रसुनमाया बुढा पहिलो भएका छन् ।

धिरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे । दलबहादुर कुँवर दोस्रो तथा चन्द्रबहादुर रावत तेस्रो बने । अर्जुन कुलुङ राई चौथो र रमेश लिम्बु पाँचौँ स्थानमा रहे ।

महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । राममाया बुढा दोस्रो र कल्पना बुढा तेस्रो भए । त्यसैगरी सम्जेदा बुढा चौथो तथा निर्मला राई पाँचौँ स्थानमा रहे ।

गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका २३ जना खेलाडी सहभागी भएका थिए । एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागी धावकहरू पनि यस रेसमा सहभागी भएका थिए ।

प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो । पुरुष तथा महिलातर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार र पाँचौँ हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा सम्पन्न प्रतियोगिताले हिमाली क्षेत्रमा साहसिक खेल पर्यटनको नयाँ सम्भावना देखाएको आयोजकले जनाएको छ ।

किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको दौड छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो । धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने मार्गमा आयोजित प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी ५८ जना धावक सहभागी भएका थिए ।