नेयमार ब्राजिलको विश्वकप टोलीमा सामेल


लन्डन, (एजेन्सी) ।

आउँदो विश्वकपका लागि ब्राजिलका फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको २६ सदस्यीय टोलीमा सामेल गराएको छ । चोटपटकसँग जुधिरहेका कारण उनले २०२३ देखि राष्ट्रिय टोलीका लागि खेलेका छैनन् ।

इटालियन एन्सेलोटीले ब्राजिलको शहर रियो दि जेनेरियोमा एक समारोहमा आफ्नो टोलीको घोषणा गरेका थिए । उनले नेयमारको नाम उच्चारण गर्नासाथै समर्थकहरूले हर्षोल्लास मनाएका थिए । नेयमारले विश्वकपमा ८ गोल गरेका छन् ।
गत वर्ष ब्राजिलमा मुख्य प्रशिक्षकमा नियुक्त भएका ६६ वर्षीय एन्सेलोटीले भनेः “हामीले नेयमारको विश्लेषण गर्नमा पूरा वर्ष बितायौं । हामीले महसुस ग¥यौं उनी राम्रो शारीरिक अवस्थामा छनु“।

टोलीमा पर्नुको मतलब नेयमारले आफ्नो चौथो विश्वकप खेल्ने संभावनामा छन् । उनले यसअघि ब्राजिलमै भएको २०१४ को विश्वकपमा पहिलोपटक खेलेका थिए । जसमा नेयमार घाइते भएर खेल्न नसक्दा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।

यसपछि नेयमारले रसिया (२०१८) मा भएको विश्वकप र कतारमा भएको २०२२ को विश्वकपमा खेलेका थिए । यी दुबै प्रतियोगितामा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म मात्रै रहेको थियो ।

ब्राजिल २०१८ मा बेल्जियमसँग र २०२२ मा क्रोएसियासँग हारेको थियो । क्रोएसियाविरुद्ध नेयमारले गोल गरेर अग्रता दिलाएपनि पछि १–१ बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा ब्राजिल पराजित भएको थियो ।
छानिएका अन्य खेलाडीहरूमा रियल मेड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हाका साथै १९ वर्षीय स्ट्राइकर एन्ड्रिक पनि समावेश छन् ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्याण्डसँग समूह सी को अन्तिम खेल खेल्नेछ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकप जुन ११ बाट सुरु हुनेछ ।

ब्राजिलको विश्वकप टोली
३ गोलकीपर ः एलिसन (लिभरपुल), एडर्सन (फेनरबाक), वेभर्टन (ग्रिमियो)
९ डिफेन्डरः एलेक्स सान्ड्रो, ड्यानिलो, लियो पेरेरा (फ्लामेन्गो), ब्रेमर (युभेन्टस), इबानेज (अल–अहली), वेस्ली (रोमा), माक्र्विनहोस (पेरिस सेन्ट जर्मेन), गेब्रियल (आर्सेनल), डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग)

५ मिडफिल्डरः ब्रुनो गुइमारेस (न्यूक्यासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), ड्यानिलो सान्तोस (बोटाफोगो), फाबिन्हो (अल–इतिहाद), लुकास पाक्वेटा (फ्लामेन्गो)
९ फरवार्डः एन्ड्रिक (लियोन), गेब्रियल मार्टिनेली (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड), म्याथ्युस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), भिनिसियस जुनियर (रियल म्याड्रिड), लुइज हेनरिक (जेनिट सेन्ट पिटर्सबर्ग), नेयमार (सान्तोस), रायन (बोर्नेमाउथ)