सीप र सहयोगले फेरियो रसिदा खातुनको जीवन

1.13k
Shares

रौतहट ।

चार छोराछोरीकी आमा रसिदा खातुन को जीवन यतिखेर पूर्ण रूपमा फेरिएको छ । केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र सीपको कमीका कारण उनी लामो समयसम्म घरगृहस्थीमै सीमित थिइन् ।

तर ग्रामीण विकास केन्द्र नेपालले सञ्चालन गरेको इस्लामिक रिलिफ नेपालको गर्भ कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत सीप र आत्मनिर्भरताका लागि सहयोग गरेपछि उहा र परिवारको जीवनमा ठूलो परिवर्तन आएको हो । दुई वर्षअघि परियोजनाको सहयोगमा उहाले आफ्नै घरमा किराना तथा कस्मेटिक पसल सुरु गर्नुभएको थियो। सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ ।

आम्दानी अपेक्षाभन्दा बढ्न थालेपछि उहाले व्यवसायलाई थप विस्तार गर्दै बाख्रा एवं कुखुरा व्यवसाय समेत थप्नु भएको छ। उहाका श्रीमान मोहम्मद जावेद खानले पनि अटो खरिद गरी सञ्चालन गर्दै आउनुभएको छ। श्रीमान–श्रीमती दुवै व्यवसायमा सक्रिय भएपछि परिवारको आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै गएको खातुनले बताउनुभयो ।

समूहको सक्रियताले सीप क्षमता र आर्थिक अवस्था मात्र होइन समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरणलाई समेत हुँदै गएको छ । परियोजनाअन्तर्गत गठन गरिएको २५ सदस्यीय स्वयं सहायता समूहमा आबद्ध महिलाहरूले दैनिक १०० रुपैयाँका दरले बचत गर्दै आएका छन् । समूहमा संकलित रकमबाट आवश्यक परेका सदस्यलाई तीन महिनाभित्र फिर्ता गर्ने सर्तमा ऋणसमेत उपलब्ध गराइँदै आएको छ ।

समूहमा आबद्ध महिलाहरूका अनुसार उक्त बचत तथा ऋण प्रणालीले साना व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुगेको छ । आर्थिक रूपमा कमजोर महिलाहरूलाई आत्मनिर्भर बनाउँदै सामूहिक बचतको संस्कार विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी बनेको गर्भ परियोजनाका धर्मेन्द्र साहले बताउनुभयो।