इलाम ।
इलामको रोङ गाउँपालिकाले रैथाने परिकार गुन्द्रुकलाई ‘ब्रान्ड’का रूपमा विकास गर्ने अभियानमा महत्वपूर्ण सफलता हासिल गरेको छ । लामो प्रयासपछि गुन्द्रुकको राष्ट्रिय गुणस्तर मापदण्ड स्वीकृत भएसँगै अब यसलाई व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने बाटो खुलेको हो ।
यसअघि गाउँपालिकाले गुन्द्रुक ब्रान्डिङका लागि अनुमति लिन खोज्दा स्पष्ट मापदण्ड नै नभएको अवस्था थियो । त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरी गुणस्तर मापदण्ड निर्माण प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक अध्ययनअन्तर्गत कच्चा पदार्थको गुणस्तर, उत्पादन प्रक्रिया, रासायनिक तथा सूक्ष्मजीव सीमा, प्याकेजिङ र लेबलिङलगायत विषयमा स्थलगत अवलोकनसमेत गरिएको थियो । अन्ततः उक्त पहल सफल भएसँगै नेपालमै गुन्द्रुकका लागि औपचारिक मापदण्ड स्थापित भएको छ ।
तीन वर्षअघि शुरु गरिएको यस अभियानअन्तर्गत रोङ गाउँपालिकामा अहिले व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन भइरहेको छ । गाउँपालिकाका अध्यक्ष मनिकुमार (सुवास) स्याङ्बोका अनुसार स्थानीय किसानले उत्पादन गरेको मुला र रायोको साग प्रयोग गरी गुन्द्रुक तयार पारिन्छ । यसलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजानसमेत थालिएको छ ।
गाउँपालिकाको पहलमा गुन्द्रुक उत्पादनका लागि कारखाना सञ्चालनमा ल्याइएको छ । यहाँ प्रशोधनका लागि कामदारसमेत राखिएका छन् । उत्पादन प्रक्रियामा सरसफाइलाई विशेष ध्यान दिइएको छ । सागलाई तीनपटकसम्म धोएर मात्र प्रशोधन गरिन्छ । यसले गुणस्तर सुनिश्चित गर्न सहयोग पु¥याएको बताइएको छ ।
स्थानीय स्तरमै खेर जाने सागलाई उपयोग गरेर खाद्यवस्तु उत्पादन हुन थालेपछि किसानमा उत्साह थपिएको छ । पहिले सडेर जाने वस्तुबाट आम्दानी हुन थालेपछि उत्पादनप्रति आकर्षण बढ्दै गएको छ । गाउँपालिकाका अनुसार गुन्द्रुक बजारमा पुगेपछि आम्दानीको ८० प्रतिशतभन्दा बढी रकम गाउँमै रहने अनुमान छ । जसले स्थानीय अर्थतन्त्र मजबुत बनाउने विश्वास लिइएको छ।
रैथाने परिकारप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै शुरु गरिएको यो पहलले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय सरकार र उत्पादनबीचको सम्बन्धलाई समेत बलियो बनाएको छ । उत्पादनलाई दिगो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु अबको चुनौती बनेको छ ।











प्रतिक्रिया