प्रि–मनसुनमै देशभर अस्वाभाविक वर्षा

५१ हजार ९ सय घरधुरीका २ लाख २६ हजार नागरिक प्रभावित हुने

4.89k
Shares

जति ठाउँमा पानी पर्छ त्यहाँ अराजक मनसुनको चपेटा र जति ठाउँमा पर्दैन त्यहाँ अत्यधिक गर्मी र आंशिक खडेरीको अवस्था आउन सक्ने मौसमविद्हरूले बताएका छन् ।

काठमाडौं।

सामान्यतया चैत–वैशाखलाई नेपालमा अत्यधिक गर्मी हुने समय मानिन्छ । तर, यस वर्ष भने अवस्था पूरै उल्टो देखियो । वर्षायाम सुरु भइसकेको झल्को दिने गरी दिनहुँजसो पानी प¥यो, असिना र हावाहुरीले जनजीवन प्रभावित बनायो र चिसोले मानिसहरूलाई तातो लुगा खोज्न बाध्य बनाएको छ । मौसमविद्हरूले यो परिवर्तनको कारण पश्चिमी वायु र बंगालको खाडीको सक्रियता देखाएका छन् ।

वैशाखभरि लगातार पानी, असिना, हिमपात र हावाहुरी चल्दा धेरै ठाउँमा गर्मीयाममै जाडो महसुस गरिएको छ । मौसमविद्हरूका अनुसार यसको मुख्य कारण सक्रिय पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुसँगको अन्तरक्रियाका कारण मौसम असामान्य बनेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको प्रि–मनसुन औसतभन्दा निकै सक्रिय देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै वैशाख २५ गतेसम्म २३० मिलिमिटर वर्षा रेकर्ड भएको छ । जबकि, विगत चार दशकको औसतअनुसार वैशाख–जेठ अवधिमा करिब १०० मिलिमिटर वर्षा हुने गरेको थियो । यसले यसपटकको वर्षा सामान्यभन्दा झण्डै तीन गुणासम्म बढी भएको देखाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार हिउँद सकिएलगत्तै पश्चिमी वायु असामान्य रूपमा सक्रिय भयो । त्यससँगै स्थानीय जलवाष्प पुनर्चक्रण प्रक्रिया पनि तीव्र बनेकाले लगातार वर्षा, असिना र हिमपातको अवस्था सिर्जना भएको हो । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार फिलिपिन्सको समुद्री क्षेत्रमा विकसित शक्तिशाली आँधी प्रणालीको असरले पनि दक्षिण एसियाभरको मौसम प्रणाली प्रभावित बनेको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन पूर्वानुमानअनुसार यस वर्षको मनसुन अवधिमा नेपालभर ५१ हजार ९ सय घरधुरीका २ लाख २६ हजार ६ सय जना प्रत्यक्ष प्रभावित हुन सक्ने आँकलन गरिएको छ । विभागले बाढी, पहिरो, डुबान र कटानबाट सबैभन्दा बढी जोखिम कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहने जनाएको छ ।

विभागको तथ्यांकअनुसार मनसुन अवधिमा १० हजारभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त हुनसक्ने अनुमान गरिएको छ भने सयौं सडक, पुल तथा विद्युत् संरचनामा समेत असर पर्न सक्ने जोखिम देखिएको छ । विशेषगरी पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको खतरा उच्च रहेको विभागको निष्कर्ष छ ।
यद्यपि, यो ‘सरदरभन्दा कम’ राष्ट्रिय औसत हो । विभागले पूर्वी कर्णाली, उत्तरी लुम्बिनी र अधिकांश गण्डकी प्रदेशमा भने सरदरभन्दा बढी वर्षाको ४५–६५ प्रतिशत सम्भावना रहेको उल्लेख गरेको छ । सबैभन्दा ठूलो चुनौती भनेको तापक्रम हुनेछ । दिनको अधिकतम र रातको न्यूनतम तापक्रम सामान्यभन्दा धेरै बढी रहने पूर्वानुमान गरिएको छ । यसको अर्थ, जति ठाउँमा पानी पर्छ त्यहाँ अराजक मनसुनको चपेटा र जति ठाउँमा पर्दैन त्यहाँ अत्यधिक गर्मी र आंशिक खडेरीको अवस्था आउन सक्छ ।

यो असाधारण वर्षाले दैनिक जनजीवन प्रभावितमात्र होइन, पूर्वाधार र उड्यन क्षेत्रमा समेत ठूलो असर पु¥याएको छ । यस वर्षको प्रिमनसुनमा ओखलढुंगा, चितवन, खोटाङको लामीडाँडा, मोरङलगायत स्थानहरूमा ६० मिलिमिटर हाराहारीमा पानी परेको छ । नवलपरासी (पूर्व) को चौसाठी र विनायी खोलाले पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो भने कान्ति लोकपथ, अरनिको राजमार्ग र पृथ्वी राजमार्गको विभिन्न खण्डमा सडक अवरुद्ध हुँदा सयौं यात्रु घण्टौंसम्म बाटोमै रोकिएका थिए । यस्तै, भारी वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब हुँदा जाजिरा एयरलाइन्सको एक अन्तर्राष्ट्रिय उडान वाराणसी डाइभर्ट भएको थियो भने रामेछापबाट लुक्ला उडान भर्ने यात्रु बोकेका तीन विमानसमेत अर्को गन्तव्यमा डाइभर्ट गरिएको थियो ।

विभिन्न जिल्लामा चट्याङ, हावाहुरी र असिनाले बालीनाली तथा जनजीवन प्रभावित भएको छ । यस वर्ष अत्यधिक वर्षा र असिनाका कारण फलफूलजन्य उत्पादनमा भारी गिरावट आउने कृषिविज्ञहरूले दाबी गरेका छन् ।

मौसमविद्हरूका अनुसार अहिले बादल लाग्ने र वर्षा हुने क्रमले सूर्यको ताप जमिनसम्म पुग्न सकेको छैन । दिउँसो तापक्रम बढ्न नपाउँदै बादल विकसित हुने र साँझपख पानी पर्ने क्रम दोहोरिएकाले चैत–वैशाखमै चिसोपन महसुस भएको हो । रातिको समयमा आकाश खुला हुँदा ताप छिटो बाहिरिने भएकाले बिहान र राति थप जाडो अनुभव गरिएको मौसमविद्हरू बताउँछन् ।

यता, भारतीय मौसम विज्ञान विभागले यस वर्षको दक्षिण एसियाली मनसुन सामान्यभन्दा करिब एक साताअघि सक्रिय भएको जनाएको छ । मे १६ देखि मनसुन दक्षिण–पूर्वी अरब सागर, बंगालको खाडी तथा अन्डमान–निकोबार क्षेत्रसम्म फैलिसकेको भारतीय विभागको भनाइ छ ।

सामान्यतया भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा पनि मनसुन सुरु हुने गर्दछ । नेपालमा प्रायः जुन १३ आसपास मनसुन प्रवेश गर्ने र अक्टोबर २ तिर बाहिरिने औसत रहेको छ । वर्षभर हुने कुल वर्षाको करिब ८० प्रतिशत हिस्सा यही अवधिमा हुने भएकाले यसलाई सबैभन्दा संवेदनशील मौसम मानिन्छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार नेपालमा मनसुन सुरु भएको मान्नका लागि अहिले सक्रिय रहेको पश्चिमी हावाको प्रभाव कमजोर हुनुपर्छ र समुद्रबाट पानी बोकेर आउने पूर्वी हावा बलियो बन्नुपर्छ । साथै, माथिल्लो आकाशको मौसम प्रणाली पनि मनसुन अनुकूल हुनुपर्छ ।

यी सबै अवस्था मिलिसकेपछि मात्रै मौसमविद्हरूले नेपालमा मनसुन भित्रिएको घोषणा गर्ने गर्छन् । यस वर्षको मनसुनमा देशभर औसतभन्दा कम वर्षा भए पनि केही क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैले कम वर्षाको समग्र अनुमान भए पनि स्थानीय स्तरमा आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने चेतावनी दिइएको छ ।

नेपालमा पनि आगामी केही दिन प्रि–मनसुन प्रणाली सक्रिय रहने, पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।