दोलखा।
बर्खा महिना सुरु हुन लागेपछि दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– २ झुले सिमवारिका बासिन्दाको चिन्ता बढ्न थालेको छ । घरछेउको रातो पहिरोले सिमवारीका स्थानीय बर्खा लागेपछि निदाउन छोडेको निक्कै वर्ष भईसकेको वडा नम्बर– २ का वडा अध्यक्ष इश्वर राज कार्की बताउँछन् ।
रातो पहिरो निक्कै भयङ्कर छ । पहिरो नजिकै रहेको सिमवारिको सात घरधुरी तत्काल सार्नुपर्ने निष्कर्ष भूगर्भविद्ले सुनाएको बर्षदिन वितिसक्दा पनि उपयुक्त विकल्प दिन नसक्दा उनीहरु जोखिम मोलेरै बस्न बाध्य भएको वडा अध्यक्ष कार्कीको भनाई छ । तामाकोशी गाउँपालिकाको पहलमा राष्ट्रिय विपद् प्राधिकरणले गरेको अध्ययनको क्रममा भूर्गभविद्हरुले सिमवारिको सात घरधुरी तत्काल सार्नुपर्ने सुझाव दिएको थियो ।
हिँउदमा रातो पहिरो छिचोल्दै दोलखाको गैरीमुदी, हावा, च्यामा लगायतका गाउँहरुमा सवारी साधन दौडने गर्छ, स्थानीय समाजसेवी भवेन्द्र कार्कीले भने– तर बर्खा लागेपछि भने रातो पहिरो क्षेत्रमा पानी उम्रने र खोला बढ्ने भएकोले मानिस समेत हिड्न नसक्ने अवस्था बन्छ ।
पहिरो छिचोल्दै गैरीमुदी, हावा, च्यामा लगायतका मानिसहरु झुले स्वास्थ्य चौकी पुग्नु पर्ने र विद्यार्थीहरु अम्मर उच्च मावि तथा जनप्रभात माविमा अध्ययनको लागि जानुपर्ने भएकोले बर्खा महिनामा निक्कै जोखिम हुने गरेको स्थानीय बताउँछन् । पहिरो छिचोल्दै स्वास्थ्य चौकी र विद्यालय जानुको विकल्प समेत नभएको स्थानीयको भनाई छ ।
झण्डै ७-८ बर्षदेखि सुरु भएको रातो पहिरो निक्कै ठूलो भएकोले वडा तथा गाउँपालिकाको बजेटले नियन्त्रण सम्भव नहुने वडा अध्यक्ष कार्की बताउँछन् । वडा वा पालिकाले बर्खा महिनामा सामान्य पहिरो नियन्त्रण गरेर मानिसलाई आवत– जावत गर्न सजिलो बनाउने बाहेक अरु केही गर्न नसक्ने वडा अध्यक्ष कार्कीको भनाई छ ।
गत वर्ष जिल्ला प्रशासन कार्यालय दोलखाको टोलिले समेत पहिरोको जोखिम आँकलन गर्दै आसपासको वस्ति तत्काल सार्न सुझाव दिएको स्थानीयको भनाई छ । तर पहिरो नियन्त्रण र विकल्पको बारेमा कतैबाट पनि सहयोग नभएको स्थानीय गुनासो गर्छन् ।

पहिरो बढ्दै गएपछि सिमवारिको सात घरधुरीमात्र नभै सेता पहरा, मुलपानी लगायतको वस्ति समेत जोखिममा परेको वडा अध्यक्ष कार्की बताउँछन् । रातो पहिरोले अहिले वडा नम्बर– २ को दुई सय बढी घरधुरी जोखिममा पर्ने अवस्था बनेको उनले बताए ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी पहिरो नियन्त्रणको लागि पालिकाको बजेटलेमात्र सम्भव नभएकोले राष्ट्रिय योजना आयोग लगायत सङ्घीय सरकार र प्रदेश सरकारको सरोकारवाला निकायलाई पहिरो नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको बताउँछन् ।
हामीले बर्खा महिनामा सामान्य पहिरो नियन्त्रणको काम गर्ने बाहेक अरु केही गर्नसक्ने अवस्था छैन पालिका प्रमुख केसीले भने– प्रदेश तथा सङ्घीय सरकारलाई पहिरोको बारेमा जानकारी गराईएकोले बर्खा अघिनै केही सहयोग हुन्छ की भन्ने अपेक्षा गरेका छौं ।











प्रतिक्रिया