एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता आयोजना हुने


काठमाडौँ
गोल्डेनगेट इन्टरनेशनल कलेज अन्तर्गतको गोल्डेन गेट बास्केटबल क्लबले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०८३ साल जेठ ८ र ९ गते (मे २२–२३, २०२६) बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ ।

विद्यार्थीमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ । १३ पटक राष्ट्रिय च्याम्पियन बन्न सफल गोल्डेनगेट बास्केटबल क्लबले युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपियाँ तथा उपविजेता टोलीले नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (एमभीपी) लाई विशेष रूपमा बास्केटबल जुत्ता प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने निःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ । उक्त क्याम्पमार्फत विद्यार्थीले आफ्नो खेलकुद सीप विकास गर्ने अवसर प्राप्त गर्नेछन् । सहभागी हुने सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीले कलेजमा विशेष छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन् ।

साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेनगेटको १३ पटक राष्ट्रिय च्याम्पियन बास्केटबल क्लबमा आबद्ध हुने अवसर पनि प्रदान गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन प्रति टोली एक हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । इच्छुक टोलीहरूले अनलाइन फाराममार्फत दर्ता गर्न सक्नेछन् ।