मुख्यमन्त्री कमलबहादुर शाह र गगन थापाबीच भेटवार्ता, सत्ता सहकार्यबारे निर्णायक छलफल हुने संकेत


काठमाडौं।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग पार्टी कार्यालय सानेपामा भेटवार्ता गरेका छन्। करिब ३० मिनेटभन्दा बढी समय चलेको भेटमा समसामयिक राजनीतिक अवस्था, कांग्रेस–एमाले सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयन तथा आगामी सत्ता समीकरणबारे छलफल भएको बताइएको छ।

मुख्यमन्त्री शाहले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुमा भेट गरेका थिए। ओलीसँग भएको संवाद र प्राप्त सन्देश लिएर उनी आज सभापति थापालाई भेट्न पुगेका हुन्।

भेटमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, प्रदेश राजधानी कार्यान्वयनमा देखिएका समस्या तथा केन्द्र र प्रदेश तहको राजनीतिक सहकार्यबारे विस्तृत कुराकानी भएको कांग्रेस निकट स्रोतले जनाएको छ।

‘मुख्यमन्त्री शाहले प्रदेश राजधानी कार्यान्वयनमा भइरहेको समस्याबारे सभापतिज्यूलाई जानकारी गराउनुभएको थियो,’ स्रोतले भन्यो, ‘हिजो एमाले अध्यक्षज्यूसँग भएका राजनीतिक संवादबारे पनि आज विस्तृत छलफल भयो।’

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र नेकपाबीच सम्भावित सत्ता सहकार्यको विषयमा मुख्यमन्त्री शाहमार्फत सन्देश पठाएका थिए। अब यस विषयमा सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच प्रत्यक्ष निर्णायक छलफल हुने तयारी भइरहेको बताइएको छ।

केही दिनभित्र थापा र ओलीबीच भेटघाट हुने तथा त्यसपछि नयाँ सत्ता समीकरणको टुंगो लाग्न सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। उता नेकपाले पनि एमालेसँग सहकार्यका लागि संवादलाई तीव्र बनाएको स्रोतको दाबी छ।