नेपाललाई ‘हिन्दु अधिराज्य’ बनाउने विषयमा सानेपामा गोष्ठी हुँदै


काठमाडौं ।

नेपाललाई पुनः सनातन हिन्दु अधिराज्यको रूपमा स्थापित गर्ने विषयमा केन्द्रित विशेष गोष्ठी शनिबार (जेठ २ गते) ललितपुरको सानेपास्थित होटल हिमालयनमा आयोजना हुने भएको छ।

भोजन गृहका सञ्चालक भरत बस्नेत नेतृत्वको ‘पृथ्वी पथ प्रतिष्ठान’ले आयोजना गर्न लागेको उक्त गोष्ठीमा नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनर्स्थापना गर्ने विषयमा वैचारिक तथा धार्मिक बहस हुने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न धार्मिक गुरु, अन्तर्राष्ट्रिय हिन्दु अभियन्ता तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहनेछ।

गोष्ठीमा आध्यात्मिक गुरु ब्रम्हर्षि मोहनजी महाराज, भारतका लोकसभा सांसद डा. श्रीकान्त एकनाथ सिन्दे, अन्तर्राष्ट्रिय हिन्दु प्रचारक स्वामी सौन्दराजन नरेन्द्रनलगायत वक्ताका रूपमा सहभागी हुने बताइएको छ। कार्यक्रममा नेपालमा धर्म, संस्कृति, राजसंस्था र सनातन मूल्यको संरक्षणका विषयमा विशेष छलफल हुने आयोजकले जनाएको छ।

पछिल्लो समय नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको बहस फेरि चर्किंदै गइरहेका बेला हुन लागेको यो गोष्ठीलाई राजनीतिक तथा धार्मिक वृत्तमा चासोका साथ हेरिएको छ।