ताइपेई ।
चीनका राष्ट्रपति सी जिनपिङ ले ताइवान मुद्दाबारे दिएको अभिव्यक्तिपछि ताइवानले कडा प्रतिक्रिया जनाएको छ । ताइवान सरकारले क्षेत्रीय असुरक्षाको मुख्य कारण नै चीनको सैन्य दबाब भएको आरोप लगाउँदै बेइजिङमाथि प्रतिवाद गरेको हो । ताइवान सरकारकी क्याबिनेट प्रवक्ता मिसेल ली ले स्पष्ट रूपमा भनिन्, “यस क्षेत्रको असुरक्षाको एक मात्र स्रोत चीनको सैन्य धम्की हो ।
” उनले क्षेत्रीय स्थायित्वका लागि ताइवानले आफ्नो रक्षा क्षमता निरन्तर विस्तार गरिरहेको र संयुक्त प्रतिरोध रणनीति अपनाइरहेको बताइन् । यो प्रतिक्रिया सी जिनपिङले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको वार्तामा ताइवानलाई चीन–अमेरिका सम्बन्धको “सबैभन्दा महत्त्वपूर्ण मुद्दा” भन्दै गलत रूपमा व्यवस्थापन भए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएपछि आएको हो । सी जिनपिङले ताइवानलाई चीनको अभिन्न हिस्सा भन्दै “ताइवानको स्वतन्त्रता र ताइवान स्ट्रेटमा शान्ति आगो र पानी जत्तिकै असंगत छन्” भन्ने टिप्पणी गरेका थिए ।
उनले ताइवान स्ट्रेटको शान्ति र स्थायित्व चीन र अमेरिकाको साझा जिम्मेवारी भएको पनि बताएका थिए । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ताइवानलाई आफ्नो भू–भागको रूपमा दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर एकीकरण गर्ने सम्भावनालाई समेत नकारेको छैन । यसै कारण ताइवान र चीनबीच लामो समयदेखि तनाव कायम छ ।
अर्कोतर्फ, संयुक्त राज्य अमेरिका ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध नराखे पनि सुरक्षा र आर्थिक सहयोगका आधारमा घनिष्ठ सम्बन्ध राख्दै आएको छ । तर ताइवानको सुरक्षा सुनिश्चित गर्न सैन्य हस्तक्षेप गर्ने वा नगर्ने विषयमा अमेरिका अझै “रणनीतिक अस्पष्टता” को नीतिमा कायम छ । पछिल्लो घटनाक्रमले ताइवान–चीन तनाव फेरि चुलिएको संकेत गरेको छ भने अमेरिका–चीन सम्बन्धमा पनि ताइवान मुद्दा प्रमुख संवेदनशील बिन्दु बनेको विश्लेषकहरूले बताएका छन् ।











प्रतिक्रिया