मनाङ ।
गृह सचिव राजकुमार श्रेष्ठ ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा अवस्थित ३,४२० मिटर उचाइमा रहेको सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयको समुद्घाटन तथा उच्च भू–भाग खोज तथा उद्धार तालिमको समापन गरेका छन् । सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको सि.स. २ उच्च भू–भाग खोज तथा उद्धार तालिम वैशाख ३१ गते समापन गरिएको हो ।


कार्यक्रममा गृह सचिव श्रेष्ठले विपद् उद्धारमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको साहस, समर्पण र व्यावसायिक दक्षताको प्रशंसा गर्दै उच्च हिमाली क्षेत्रमा हुने जोखिमपूर्ण उद्धार कार्यले विपद् व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने बताए । उनले सीमित स्रोत–साधनका बाबजुद पनि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मन्त्रालय सधैं आवश्यक दक्ष जनशक्ति तथा स्रोत–साधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।



कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल ले पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थासँग मात्र नभई राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय मानवीय उत्तरदायित्वसँग समेत जोडिएको विषय भएको बताए । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरू सामना गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त शिक्षालय स्थापना गरिएको स्पष्ट पारे ।
साथै उनले शिक्षालयलाई थप सुदृढ बनाउन आधुनिक उद्धार उपकरण, भौतिक पूर्वाधार, हेलिकप्टरको आपतकालीन व्यवस्था तथा जोखिमपूर्ण काममा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ताको व्यवस्था आवश्यक रहेकोमा जोड दिए । तालिमका क्रममा ४ जना प्रशिक्षक र १८ जना प्रशिक्षार्थीहरूले वैशाख २९ गते ६,०३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका थिए । यसअघि पनि २०८२ सालमा विभिन्न समूहले उक्त हिमालको सफल आरोहण गरी उच्च भू–भाग उद्धार क्षमताको अभ्यास गरेका थिए ।
यस अवसरमा मनाङ जिल्लाका स्थानीय तहका प्रतिनिधि, गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरीका उच्च अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलको उक्त शिक्षालय २०७७ सालमा मनाङ सदरमुकाममा स्थापना भई २०७८ साल वैशाखदेखि हालको हुम्डे स्थानमा स्थानान्तरण गरिएको हो ।
हालसम्म शिक्षालयमार्फत ७५ जनाले आधारभूत, ५५ जनाले एडभान्स र १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरिसकेका छन् । तालिमप्राप्त सुरक्षाकर्मीहरूले मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लामा हिउँमा फसेका करिब १,५०० नागरिकको उद्धार, सडक अवरुद्ध हुँदा पुनः सञ्चालन, हराएका तथा बेपत्ता व्यक्तिको खोजी तथा लेक लागेका पर्यटकहरूको जीवनरक्षा जस्ता महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको सशस्त्र प्रहरीको भनाइ छ ।











प्रतिक्रिया